काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा र तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलाबीच चुनावी तालमेल गर्ने सहमति जुटेको छ।
संस्थापन इतर समूह पौडेल पक्षले साझा उम्मेद्वारको टुंगो लगाउन नसकेका बेला देउवा पक्षले भने तेस्रो धारका नेता सिटौला पक्षसँग चुनावी तालमेल गरेको हो ।
देउवा–सिटौलाले महाधिवेशन उद्घाटन गर्नुभन्दा अघि नै बालुवाटारमा बसेर सहमति गरेको थियो। शुक्रबार साँझ मात्रै उक्त सहमतिको कुरा बाहिरीएको हो ।
स्रोतका अनुसार भृकुटीमण्डपमा उद्घाटन सत्र सकिएपछि सिटौलाले आफूनिकट नेताहरूलाई बोलाएर सहमतिबारे जानकारी गराएका थिए। सहमति अनुसार देउवाको टिमबाट सिटौलानिकट प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बन्ने पक्का भएको छ भने देउवा पक्षको टिमबाटै सिटौला पक्षका अर्का नेता उमाकान्त चौधरी पनि सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।
देउवाले आफ्नो समूहका चार जना आकांक्षीलाई छाडेर सिटौलानिकट पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने सहमति गरेका हुन्। त्यसको साटो सिटौला पक्षले देउवालाई सभापतिमा जिताउन सघाउने सहमति भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
