गण्डकी कांग्रेसमा विवादः बोल्न नपाएको निहुँमा नाराबाजी

पोखरा । गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ। आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखे।

Advertisement

यहाँ संस्थापनबाट जोशी निर्विकल्प उम्मेद्वार बनेका छन् भने इतर पक्षले उम्मेद्वार टुंग्याउन सकेको छैन। कास्कीबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन्।

विवादपछि तीनै जनालाई बोल्न दिइएको छ। कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा असन्तुष्टहरूले नाराबाजी गरेका हुन्।

यसैबीच, संस्थापनइतरका नेताहरूले उम्मेद्वारी शुल्क अत्यधिक चर्को भएको भन्दै घटाउन माग गरे । नेता महादेव गुरुङले यो शुल्क तिरेर कोही पनि उम्मेद्वार बन्न नसक्ने बताए।

गण्डकी कांग्रेसको सभापति उम्मेद्वार बन्न ९१ हजार शुल्क छ । उपसभापतिमा ६१, महामन्त्रीमा ५१, सहमहामन्त्रीमा ४१ र सदस्यको नाम दर्ता गराउन ३१ हजार तोकिएको छ। यस्तै, प्रवेश शुल्कका लागि २ हजार ५ सय छ।

कार्यक्रम स्थलमै विरोध भएपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै मूल्य कायम हुने आयोजकले जनाएको छ।

More News last news
Loading...