गच्छदारकाे निर्वाचन क्षेत्रमा कांग्रेस अधिवेशन अनिश्चितकालका लागि स्थगित

प्रकाश तिम्सिना/सुनसरी l नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को मतदान कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ।

बिहीबार बिहान ९ बजेदेखि निर्वाचन हुने भए पनि विवाद बढ्दै गएपछि मतदान अधिकृत देवनारायण यादवले अर्को सूचना प्रकाशित नभएसम्मका लागी निर्वाचन कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन्।

Advertisement

समयमै मतदान गर्न निर्वाचनस्थल आएका स्थानीय नेता, कार्यकर्ताहरूले मतदान सुरु गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए। उनीहरूले निर्वाचन अधिकृतको राजीनामाको माग गर्दै टिके प्रथा अन्त्य हुनुपर्ने बताएका थिए।

निर्वाचन अधिकृत यादवका अनुसार मतदान कार्य सुरु गर्नुअघि गर्ने मुचुल्का गर्न तथा अन्य कार्यका लागि उम्मेदवार वा प्रतिनिधिहरू कोही पनि उपस्थित नभएकाले मतदान कार्य सुचारु गर्न नसकिएको हो।

क्षेत्रीय सभापतिका उम्मेदवार मेहेदी हुसेनले मतदान अधिकृतले मतदान कार्य स्थगित गरेको सूचना जारी गरेको र नेताहरू विवाद मिलाउन छलफल गरिरहेको बताए। त्यस्तै महाधिवेशन प्रतिनिधिकी उम्मेद्वार निर्मला चौधरीले तीन दिनदेखि निर्वाचन हुने आसमा बस्न बाध्य भएको बताइन्।

सुनसरी क्षेत्र नं ३ कांग्रेस उपसभापति विजयकुमार गच्छदारको क्षेत्र हो । यहाँ गच्छदारले आफ्नो पक्षीय उम्मेदवारलाई सहमतिमा नेतृत्वमा ल्याउन खोज्दा निर्वाचन कार्यपालिका नै प्रभावित हुन पुगेको छ।

गच्छदारले आफ्नो क्षेत्रमा सहमतिअनुसार पूर्व लोकतान्त्रिक फोरमका उम्मेद्वारलाई क्षेत्रीय सभापति बनाउन लागिपरेका थिए। तर कार्यकर्ता तथा जिल्लाका संस्थापन इतर समूहका नेताहरूले नमानेपछि निर्वाचनमा जान बाध्य भएका थिए।

चुनाव एक दिन थप गरेर ८ गतेलाई तोकिएको थियो । तर उनले निर्वाचन समितिलाई पटक पटक समय थप गर्न माग राख्दै आएका थिए।

आफ्नो क्षेत्रमा पछिल्लो समय गच्छदार कमजोर बन्दै गएका छन् । निर्वाचनमा संस्थापन इतर समूहका नेता जिते आफ्नो पक्ष कमजोर हुने देखिएपछि निर्वाचन नगराउन गच्छदार स्वयं लागेका छन्।

More News last news
Loading...