ताप्लेजुङ । ताप्लेजुङमा ६१ वडा मध्ये नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ५० वडामा नयाँ नेतृत्व चयन गरेको छ। सनिबार ४४ र आइतबार ६ वडा गरी ५० वडामा नेतृत्व छनौट गरिएको हो।
नौ स्थानीय तह रहेको जिल्लामा माओवादीले ६१ वडा मध्ये ५० वडामा नयाँ नेतृत्व चयन गरेको छ। बाँकी रहेको ११ वडामा भने मंगलबारसम्ममा वडा सम्मेलन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने माओवादी केन्द्रका जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जानकारी दिए। आवश्यक तयारी पूरा भई नसकेकाले उक्त वडाको सम्मेलन बाँकी रहेको बुढाक्षेत्रीले बताए।
यता वडा सम्मेलन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ। वडा सम्मेलन मेरिङ्देन गाउँपालिकाका ६ वटै वडा र सिदिङ्वा गाउँपालिकाको सातमध्ये तीनवटा वडा, फुङ्लिङ नगरपालिका, सिरिजङघा लगायत गाउँपालिकाको केही वडामा सम्मेलन बाँकी रहेको जनाइएको छ।
पार्टीको कार्यतालिकाअनुसार नै ताप्लेजुङका वडाहरूमा सम्मेलन सम्पन्न गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विजयप्रकाश वनेमले जानकारी दिए।
तयारी अपुग भएका कारण शनिबार सम्मेलन हुन नसकेका वडाहरूमा चाँडै सम्पन्न गरेर तोकिएको समयभित्रै पालिका र जिल्लाको सम्मेलन सम्पन्न गर्ने वनेमले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
