चितवन । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन १०-१२ मंसिरसम्म चितवनमा हुँदैछ। महाधिवेशन मिति नजिकिएसँगै महाधिवेशन व्यवस्थापन र प्रचारप्रसारलाई तिव्र बनाइएको छ।
१० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन सत्र हुनेछ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुनेछ।
बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूका लागि होटेलका ३५ सय बेड बुकिङ गरिएको छ। बन्द सत्र हुने होटल सेभेन स्टारमा तीन छाक खानाको व्यवस्था गरिएको छ भने अन्य दुई छाक खाना प्रतिनिधि बस्ने होटलमै व्यवस्था हुनेछ। ११ मंसिर बिहान र बेलुका र १२ मंसिर बिहानको खाना होटल सेभेन स्टारमा उपलब्ध हुनेछ।
१० मंसिर बेलुकी एमाले अध्यक्ष केपी ओलीको तर्फबाट विशेष खानाको व्यवस्था गरिएको छ। १२ मंसिर बेलुकीको खाना महाधिवेशन प्रतिनिधि बस्ने होटलमै व्यवस्थापन हुनेछ। उक्त खानाको परिकार तयार पार्नका लागि सोल्टी र हायात होटलबाट अनुभवी सेफ ल्याउने तयारी भएको छ।
सेभेन स्टार होटल सौराहाका सञ्चालक माधव दवाडीका अनुसार तीन छाकमा १०-१० प्रकारका खानाको व्यवस्था हुनेछ । हरेक छाकमा खसीको मासु, कुखुराको मासु र माछा हुनेछ। पहिलो छाकमा सलाद बार, सादा खाना, मिक्स दाल फ्राई, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र फलफूल रहने छन्।
दोस्रो छाकमा सलाद बार, सादा खाना, दाल मखनी, आलु गोभी, मसरुम मटर, मटन करी, चिकन डोपियाजा, माछा फ्राई, अचार साँदेको र सवुदाना हुने सञ्चालक दवाडीले जानकारी दिए।
अन्तिम तथा तेस्रो छाकमा भने सलाद बार, सादा खाना, कालो दाल, आलुबोडी तामा, भेज तरकारी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई रहने छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
