एमाले महाधिवेशन : प्रतिनिधि हुन तछाड मछाड, २८ कोटामा २०६ को उम्मेदवारी

चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन १०-१२ मंसिरसम्म चितवनमा हुँदैछ। त्यसका लागि एमालेले आज देशभर महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ।

चितवनबाट महाधिवेशनमा २८ जना प्रतिनिधि जानुपर्नेमा सात गुणा बढीको मनोनयन पत्र दर्ता भएको छ । एमाले महाधिवेशन स्थलमै प्रतिनिधि हुन तछाड मछाम देखिएको छ।

Advertisement

२८ जना प्रतिनिधिको लागि २०६ जनाको मनोनयन पत्र दर्ता भएको एमाले चितवनले जनाएको छ। एमालेकाअनुसार महाधिवेशन प्रतिनिधिका लागि चितवन निर्वाचन क्षेत्र नं १ बाट १० जना, क्षेत्र नं २ बाट ९ जना, क्षेत्र नं ३ बाट सात जना र समग्र दलित तथा उत्पीडन क्षेत्रबाट दुई जनाको कोटा रहेको छ।

शनिबार भएको मनोनयन पत्र दर्तामा भने क्षेत्र नं १ मा ६५ जना, क्षेत्र नं २ मा ७० जना, क्षेत्र नं ३ मा ६० जना र दलित तथा उत्पीडन क्षेत्रबाट ११ जनाको उम्मेदवारी दर्ता भएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन्। ‘महाधिवेशन प्रतिनिधिका लागि धेरैले इच्छा देखाउनु भएको छ। धेरैको मनोनयन दर्ता भएको छ । समझदारी जुटाएर प्रतिनिधि छनोट गर्नका लागि हामी छलफलमा छौं,’ उनले भनिन्।

आवश्यकभन्दा अत्यधिक बढीको मनोनयन पत्र दर्ता भएपछि नेताहरु समझदारी जुटाएर प्रतिनिधि छनोट गर्ने कार्यमा लागेका छन्। दलित तथा उत्पीडन क्षेत्रबाट दुई जनामध्ये शिवकुमारी गोतामे छनोट भइसकेकी छन्। बाँकी एक जना छनोटका लागि छलफल भइरहेको छ।

निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि चयनको लागि छलफल भइरहेको सम्बन्धित क्षेत्रका प्रतिनिधि छनोट समितिका संयोजकले बताएका छन्।

क्षेत्र नं ३ मा आइतबार बिहानसम्ममा प्रतिनिधि चयनको काम सम्पन्न हुने देवी ज्ञवालीले जानकारी दिए। क्षेत्र नं १ र २ मा पनि समझदारी जुटाएर प्रतिनिधि छनोट गर्न नेताहरु लागि परेका छन्।

More News last news
Loading...