स्तब्ध पार्ने घटनाः तिहारको टिका लगाएन गएका वली गुडिरहेको गाडीमै बिते, कसैले थाहा पाएनन्

काठमाडौँ । फेरी अर्को सबैलाई स्तब्ध पार्ने घटना बाहिर आएको छ। सल्यानमा एक यात्रुको यात्राकै क्रममा गाडीभित्र मृत्यु भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडिरहेको गाडीको सिटमै मृत्यु भएको हो।

Advertisement

राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र-०१००६-ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा वली मृत्यु भएको हो। सँगै यात्रा गरिरहेका वलीको मृत्यु भइसकेको कुरा गाडीभित्रका कसैले पनि थाहा पाएनन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका हवल्दार वीरेन्द्र खड्काले दिएको जानकारीअनुसार सल्यानको बागचौर नगरपालिका– २ थारमारेमा आएर गाडी रोकिएपछि मात्रै वलीको मृत्यु भइसकेको कुरा अरू यात्रुले थाहा पाएका हुन्।

‘थारमारेको शारदा होटलमा सोमबार दिउँसो साढे १ बजेतिर हायस गाडी आइपुगेको रहेछ,’ ट्राफिक हवल्दार खड्काले भन्नुभयो, ‘सबै यात्रु झरेर खाजा नास्ता खान गए पनि वली सिटमै थिए। खाजा खाएर फर्किएकी एक जना आफन्त महिलाले बोलाउन खोजेपछि बल्ल उहाँको मृत्यु भएको कुरा थाहा भएको हो।’

खड्काका अनुसार वली हायस गाडीको अगाडिको सिटमा एक्लै बसेका थिए। ‘अलि ठूलोखाले टोपी लगाएर थोरै घोप्टो परेर बसेको अवस्थामा रहेको हुँदा कसैले पनि मृत्यु भएको होला भन्ने अन्दाज नै गरेका रहेनछन्,’ खड्काले भने ‘खाना खाएर आइसकेपछि भतिजी नाता पर्ने महिलाले बोलाउन खोज्दा नबोलेपछि उनी बितिसकेको थाहा भयो।’

सिटमै बसेको अवस्थामा फेला परेका वलीको एउटा हात घुँडामा र अर्को हात कम्मरको साइडमा रहेको तथा अलिकति घोप्टो परको हुँदा अन्य यात्रुले सुतेको ठानेर कसैले घटनाबारे जानकारी नै नपाएको बयान दिएको खड्काले बताए,

भतिजी नाता पर्ने ती महिलाले वली अल्सरको बिरामी रहेको प्रहरीलाई जानकारी दिएकी छिन्। घटनास्थलमा प्रहरी आएर मुचुल्का तयारी पारी परीक्षणका लागि जिल्ला अस्पताल खलंगामा पठाउने तयारी भइरहेको ट्राफिक प्रहरी हवल्दार खड्काले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वली रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका-१२ नुवाकोटमा तिहारको टीका लगाउन गएका थिए। त्यहाँबाट फर्किदै गर्दा वलीको यात्राकै क्रममा मृत्यु भएको हो।

More News last news
Loading...