पोखरा । गण्डकी सरकारले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा चासो देखाएको छ । विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेपछि संचालनमा अवरोध हुन सक्ने भन्दै त्यस्ता समस्या बेलैमा पहिचान गरी समाधानका लागि समिति बनाएको हो ।
पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलको अध्यक्षतामा सरोकारवालासहित नौ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा गण्डकीका प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय सचिव, उद्योग बाणिज्य संघ पोखराका अध्यक्ष र परियोजनाका प्रमुख सदस्य रहेका छन् । पर्यटन मन्त्रालयका सचिवलाई सदस्य सचिवको जिम्मेवारी दिइएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
समितिले विमानस्थल संचालनमा ल्याउन देखापरेका समस्या खोज्ने र समाधानको पहल गर्नेछ । विमानस्थलका अनुसार तत्काल केही समस्या देखिएको छ । रिठ्ठेपानीमा रहेको डाँडा काट्नेदेखि उडान रुटमा पर्ने ल्याण्डफिल साइट हटाउने र एयरपोर्टमा अनियन्त्रित रूपमा पस्ने पानी व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । यसको समाधानका लागि समितिले पहल गर्ने बताइएको छ ।
विमानस्थलबाट यही जनवरीबाट आन्तरिक उडान गर्ने गरी निर्माणलाई तीब्रता दिइएको छ भने नेपाली नयाँ वर्षदेखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ । तर, उडानअघिका समस्या समाधानमा कुनै पहल भएको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले असोज अन्तिम साता विमानस्थलको निरीक्षण गरी सबै समस्या समाधानका लागि सरकार तयार रहेको आश्वासन दिएका थिए । पोखराको ल्याण्डफिल सार्ने तयारी गरिए पनि स्थानीयको अवरोधले काममा उल्झन् थपिएको छ ।
पोखरा १८ बाच्छेबुडुवाको ल्याण्डफिल १६ र २० नम्बर वडाको सिमानामा सार्ने पोखरा महानगरको कार्यपालिका बैठकले निर्णय गरेको छ । रिठ्ठेपानीको डाँडा काट्न संघ सरकारले अझै स्वीकृति दिएको छैन । यता, ढल निकासका लागि भने रकम धेरै लाग्ने भएपछि प्रदेशले संघलाई गुहारेको छ । करिव ४० करोड रुपैयाँ हाराहारी खर्च लाग्ने विमानस्थलले जनाएको छ ।
विमानस्थल निर्माणको काम ८० प्रतिशतभन्दा बढी भइसकेको छ । २२ अर्ब रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय मापदण्डको विमास्थल बनाउन थालिएको हो । यद्यपि, यहाँको भूगोलका कारण ठूला जहाज भने आउजाउ गर्न नसक्ने जानकारहरू बताउँछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
