काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि मंसिर १० देखि १२ गतेसम्म बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
महाधिवेशन आयोजना र व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ । जसमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, देवी ज्ञवाली लगायतका सदस्यहरू रहेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
यस्तै बैठकले दशैं लगत्तै परेको पानीका कारण आएको बाढी, पहिरो र डुवानबाट मृत्यु भएका र प्रभावितहरूप्रति दुःख व्यक्त गरेको छ।
त्यस्तै, धान बालीमा भएको क्षतिबाट किसानमा पर्न गएको पीडामा मल्हम लगाउन तत्काल राहतका प्याकेजहरू ल्याउन पनि सरकारसँग आग्रह गरेको छ। साथै क्षति भएका भौतिक संरचनाको तत्काल पुनर्निमाण गर्न पनि माग गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
