दसैँमा अपराधः कहाँ के भयो ?

काठमाडौँ । दसैँको अवधिमा विभिन्न अपराधका घटना भएका छन् । राँगा काटेर मासु भाग लगाउँदा भएको विवादमा सिन्धुलीमा फूलपातीको दिन २१ वर्षीय युवकको हत्या भयो ।

कमलामाई नगरपालिका–११ छतिवनका २१ वर्षीय बिक्रम लामगादेलाई दुईजना मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। हत्या आरोपमा ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगरलाई प्रहरीले पक्राउ गरेको छ। आरोपीहरुले विक्रमलाई दाउराको चिर्पटले हानेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

Advertisement

यसैगरी फूलपातीकै दिन सल्यानको बनगार कुभिण्डे नगरपालिका–१० मा बुवाले छोराको हत्या गरे । ३३ वर्षीय छोरा रुपलाल कवर मगरको हत्या आरोपमा उनका बुवा निम बहादुर कवरलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषामा अष्टमीको दिन शौच गर्न निस्केकी सुकमरिया देवीलाई ‘बोक्सी आरोप’मा यातना दिईयो, मलमुत्र खुवाइयो । टुनामुना गरेको भन्दै मलमुत्र खुवाएको आरोपमा प्रहरीले स्थानिय सिकन्दर महतो, पुरनीदेवी महतो, प्रमिलादेवी महतो र अनिल महतोलाई पक्रेर अनुसन्धान गरिरहेको छ । आरोपीहरु एउटै परिवारका सदस्य हुन् ।

रसुवामा घरायसी बिबाद हुँद नौकुण्ड गाउँपालिका घर भएकी ६५ वर्षीय कान्छीमाया गमदानको कुटेर हत्या गरिएको छ । असोज ३० मा उनको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा उनका पति ७८ वर्षीय बुद्ध बहादुर गमदानलाई जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको छ ।

असोज ३० मा सर्लाहीको बलरा नगरपालिका घर भएका २४ वर्षीय नवनित झालाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको थियो । फेसवुकमा कमेन्ट गरेको विषयमा बिबाद हुँदा बलरा बस्ने बिनय झालाई नवनितले पेस्तोल ताकेका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिरहेको छ ।

दसैँ अवधिमा जुवा, तास पनि रोकिएन । काठमाडौं उपत्यका र बाहिर जिल्लाबाट प्रहरीले दसैँको अवधिमा उल्लेख्य संख्यामा जुवाडेहरुलाई पक्राउ गरेको थियो । असोज ३० मा काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित नयाबबस्तीबाट असल बल सहित ११ जना जुवाडेलाई महानगरीय प्रहरी वृत बौद्धले पक्राउ गरेको थियो ।

कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भएका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको आरोपमा प्रहरीले उनकी पत्नी अमृता चौधरी र अर्का एकजनालाई पक्राउ गरेको छ । असोज ३० मा अमृतासँग मिलेर रमेशका हत्यामा संलग्न २९ वर्षीय विष्णु चौधरीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रमेशको शव खुटिया नदि नजिक फेला परेको थियो । हत्यामा संलग्न आरोपीहरुको बिचमा विवाहेत्तर सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।​

पूजा गर्ने आवाज उठाउँदा हत्या
उता चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको २८ असोजमा हत्या गरिएको छ। ‘दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ’ भनेर आवाज उठाउँमा स्थानीयले कुटेर उनको हत्या गरेको पिडित पक्षले जिकिर गरेका छन्।

भीमबहादुरले दलितले पनि मन्दिरमा पूजा गर्न पाउनुपर्ने माग गरेका थिए। भीमबहादुरको हत्यामा स्थानिय सीताराम बस्नेत सहितको हात रहेको अधिकारकर्मीहरूले दाबी गरेका छन्।

More News last news
Loading...