काठमाडौँ । अमेरिकामा राष्ट्रपति चयनका लागि आज राति चुनाव हुँदैछ।
चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ। अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ।
अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्ला धेरैजसो मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत बिन्दुले अग्रता बनाइरहेका छन्।
एनबीसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएको छ।
गएको अक्टोबर २९ देखि ३१ तारिखसम्मको मत सर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई नरुचाएको देखाएका छन्।
तर अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति ट्रम्पलाई झण्डै ५५ प्रतिशतले समर्थन जनाएका छन्।
चुनावी नतिजा फेरबदल गर्न केही राज्यहरुको मतमा भर पर्नेछ। अमेरिकी चुनाव परियोजनाका अनुसार हुलाक र मतदान केन्द्रमै गएर अहिलेसम्म ९ करोड ३० लाखभन्दा बढी अमेरिकीले अग्रिम मतदान गरिसकेका छन्।
यो संख्या सन् २०१६ मा गणना गरिएको कूल मतको झण्डै ६८ प्रतिशत हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
