भारतमा २० दिनमा १० लाख नयाँ कोरोना सङ्क्रमित थपिए

भारतमा २० लाख भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको आधिकारिक तथ्याङ्कले देखाएको छ। विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन्। यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो।

अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो। भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ।

Advertisement

सङ्क्रमितहरूको सङ्ख्या २० लाख नाघ्ने भारत तेस्रो देश बनेको छ। विगत २४ घण्टामा त्यहाँ ६२,१७० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यससँगै सङ्क्रमितहरूको कुल सङ्ख्या २०,२५,४०९ पुगेको छ। तीमध्ये ४०,७०० जनाको मृत्यु भएको छ। विश्वभरि कोभिड-१९ का कारण मृत्यु हुने देशमध्ये भारत शीर्षस्थ पाँचौँ स्थानमा छ।

देशको १.३ अर्ब जनसङ्ख्यासँग तुलना गर्दा मृतकको सङ्ख्या धेरै नभएको केही विज्ञहरूको तर्क छ। तर विभिन्न कारणले कोभिड-१९ सँग सम्बन्धित मृत्युको सङ्ख्या कम देखाइएको सरकारलाई आरोप लागेको छ।

दुई महिनासम्म लगाइएको प्रतिबन्धात्मक व्यवस्था जुन महिनाको सुरुतिर अन्त्य गर्दै भारतमा अर्थतन्त्र क्रमिक रूपमा चलायमान बनाउँदै लगिएको छ।

भर्खरै व्यायामशालाहरू पुनः खुलेका छन्। केही राज्यमा प्रति १० लाख मानिसमध्ये ४०,००० जनाको परीक्षण गरिएको छ भने अन्यत्र ६,००० परीक्षण मात्रै गरिएको छ।

दक्षिण भारतको आन्ध्र प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ। आन्ध्र प्रदेश सर्वाधिक प्रभावित राज्यको सूचीमा महाराष्ट्र र तामिलनाडुपछि तेस्रो स्थानमा छ।

More News last news
Loading...