लकडाउन
बगिरहेको नदिले आफ्नो गति भुले जस्तो
निसासिएर वतास पनि डुल्दै नडुले जस्तो
अकस्मात यो असहजता कस्तो ?
हात बाँधेर पौडिए जस्तो खुट्टा बाँधेर दौडिए जस्तो
आगन परदेश र परदेश परलोक जस्तो
अब त सकियो कि सब थोक जस्तो
आखिर हुनेले त मिठो मसिनो खाने रैछ नहुने त मुटु मिचेर रुने रैछ
ए ! लकडाउन त यस्तो पो हुने रैछ
देश पस्नेलाई घर फर्केर आउॅंदिन कि जस्तो
घर बस्नेलाई आफन्त देख्न पाउँदिन कि जस्तो
न गुड्छन् मोटर न उड्छन् जहाज के हरायो के छुट्यो जस्तो
समयले सर्वस्यो लुट्यो जस्तो राहत पंक्षीलाई दाना जस्तो
आफू कैदी र घर झ्यालखाना जस्तो
हात मुख जोर्न नपाए पनि साबुन पानिले हात मिचिमिचि धुने रैछ
ए ! लकडाउन त यस्तो पो हुने रैछ
बस्ती मसानघाट र मसानघाट बस्ती जस्तो
भोलि होला कि नहोला खै हिजो अस्ति जस्तो
दसथरि खबर सुनेर बस्यो,दैलो थुनेर बस्यो लाग्दैन कोहि साधु र जोगी जस्तो
जो हेरे पनि शंकालु कोरोना रोगी जस्तो बटुवाको हुल उस्तै सलहनै लर्के जस्तो
शहरको रहर मेटी गाउँघर सम्झि फर्के जस्तो
भोको पेटमा डाँको छोड्दा अलपत्र सुत्केरीले हृदयको भित्रि कुना कता कता छुने रैछ
ए ! लकडाउन त यस्तो पो हुने रैछ
भेटै नभएर प्रिय बैश जोवन बित्ला जस्तो
प्रेमले मृत्यु हैन मृत्युले प्रेम जित्ला जस्तो
न भेट्छु न भुल्छु नदेखेरै आकुल-व्याकुल छु बार्दलीबाटै हाम फालु जस्तो
झम्टेर तिमीलाई अंगालुँ जस्तो
जोडि छुटेर ढुकुर वल्लो बन पल्लो बन जस्तो
देख्यौ नि समय ठुलो हैन भन्थ्यौ पैसा र धन जस्तो
ताउर माउर छन् मै हुँ भन्नेहरु विनासको अगााडि विकास शुन्य रैछ
ए ! लकडाउन त यस्तो पो हुने रैछ।
रमेश बिजी,
केन्द्रीय अध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
