नानी शुक स्मृति शिक्षा पुरस्कारबाट पर्वतका आचार्य सम्मानित

पोखरा । नानी शुक स्मृति शिक्षा पुरस्कारबाट पर्वतका समाजसेवी लोकनाथ आचार्य सम्मानित भएका छन्। नानी शुक स्मृति प्रतिष्ठान पोखराले संस्थाको १५ औं वार्षिकोत्सव अवसरमा बुधबार आचार्यलाई सो पुरस्कार प्रदान गरेको हो। पुरस्कार राशि २५ हजार ५ सय २५ सहित ताम्रपत्र र दोसल्ला रहेको छ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पोखराका प्रमुख विष्णुनारायण श्रेष्ठले उनलाई सम्मान गर्दै जीवनको सार्थकता सत्कर्म हो भने । उनले समाजमा ३ प्रकारका मानिस हुने बताए । जसमध्ये एकथरि मामको लागि, अर्को दामको लागि र तेस्रो सामाजिक कार्यका लागि मरिमेट्ने बताए।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कोइराला सुवेदीले सम्मानित व्यक्तित्वलाई बधाई दिँदै प्रतिष्ठानले गरेको अनुकरणीय कार्यको प्रशंसा गरिन् । पुरस्कार छनोट समिति संयोजक एवं प्रतिष्ठान उपाध्यक्ष हेरम्बप्रसाद कोइरालाले सम्मानित व्यक्ति आचार्यको बारेमा परिचय दिँदै पर्वत जिल्लामै शिक्षा र समाजसेवाको एक खम्बा भएको चिनाए।

प्रतिष्ठान संरक्षक वीरेन्द्रकुमार हिराचनले आफ्नो दिवंगत बाबुआमाको स्मृति गर्दै गीत गाएर मन्त्रमुग्ध पारेका थिए।

सम्मानित व्यक्तित्व ८० वर्षीय आचार्यले मानिस मरेपछि पनि समाजले सधैँ सम्झिराख्ने काम गर्नुपर्ने बताए। प्रतिष्ठान अध्यक्ष तारानाथ गौतम पाखेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतिष्ठान संरक्षक शान्ति हिराचन र धन्यवाद ज्ञापन संरक्षक मनु हिराचनले गरेका थिए । कार्यक्रम संचालन सुशील ज्वारचनले गरेका थिए । सो अवसरमा भजनसमेत प्रस्तुत गरिएको थियो।

नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा लामो समयदेखि समाजको विभिन्न क्षेत्रमा क्रियाशील शिक्षासेवी, समाजसेवी, नागरिक समाज, व्यवसायी, प्राध्यापक, शिक्षक, कलाकार, पत्रकार लगायतको विशेष उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा आमन्त्रित गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर कार्यक्रम सुरु हुनै लाग्दा अस्वस्थको कारण देखाउँदै आएनन् । जसका कारण उपस्थित सहभागीले खिन्न महसुस गरेका थिए।

लामो समयदेखि शिक्षा र समाजसेवाका क्षेत्रमा उल्लेख्य योगदान पु-याएका समाजसेवी तथा शिक्षासेवीलाई हरेक २ वर्षमा सो पुरस्कार प्रदान गरिँदैआएको प्रतिष्ठानले जनाएको छ। यसपालि सम्मानित कुष्मा–७ निवासी आचार्यले शिक्षा र सामाजिक क्षेत्रमा ५० वर्षदेखि योगदान दिँदैआएका छन्। शिवालयको पूर्व उपप्रधानपञ्च उनी कुष्मामा अनिवार्य निःशुल्क शिक्षाको स्थापना गर्नमा पहल गर्नुका साथै कुष्मामा विद्यालय तथा क्याम्पस स्थापनामा विशेष पहल गरेका थिए।

शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा उनका परिवारद्वारा ९ लाख रुपैयाँ अक्षयकोष स्थापना गरिसकिएको र सो अक्षयकोष व्याजबाट पुरस्कार प्रदान गरिँदैआएको प्रतिष्ठान संरक्षक वीरेन्द्रकुमार हिराचनले जानकारी दिए । यसअघि भक्ति हिराचन (मुस्ताङ), अनन्तनाथ पौडेल (कास्की), पद्मराज कोइराला (कास्की), दीव्यरमण अर्याल (तनहुँ), पद्मसिं विश्वकर्मा (बागलुङ), कृष्णप्रसाद पौडेल (अर्घाखाँची), पूर्णभद्र नेउपाने (लमजुङ) पुरस्कृत भैसकेका छन्।

 

More News last news
Loading...