साझा पार्टी कास्कीमा खनाल, महानगर संयोजकमा गुरुङ चयन

पोखरा । साझा पार्टी कास्की संयोजक अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजक मनकाजी गुरुङ घोषित भएका छन्। साझा पार्टीको पोखरामा शनिबार आयोजित एक कार्यक्रममा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले संयुक्त रुपमा माटोको टीका लगाएर जिल्ला र महानगर संयोजक घोषणा गरेका हुन् ।

कास्की क्षेत्र २ मा हुने उपनिर्वाचनमा साझा पार्टीले यो पटक बलियो उपस्थिति जनाउने र मतदाताले वैकल्पिक शक्तिको रुपमा उदाएको साझा पार्टीलाई जिताएर एउटा गतिलो सन्देश दिने विश्वास व्यक्त गरे । साझा पार्टीको जिल्ला संयोजक खनालले जिल्लाका सबै गाउँपालिकाहरुमा संगठन विस्तार अभियानलाई तिव्रता दिने बताए । ‘पार्टीको संगठनलाई स्थानियस्तरबाटै बलियो बनाउने कुरा मेरो प्राथमिकता रहनेछ । र, पार्टीले दिएको यो जिम्मेवारीलाई मैले सफलतापूर्वक निभाउन प्रयास गर्नेछु,’ उनले भने ।

Advertisement

साझा पार्टीको कास्की जिल्ला संयोजक बनेका खनाल राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । कानुनको विद्यार्थी समेत रहेका खनाल युवा व्यवसायी पनि हुन् । उनी एक इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षको रुपमा कार्यरत छन् भने आफ्नै लगानीमा होटल संचालन गरिरहेका छन् ।

त्यस्तै पार्टीकोे पोखरा महानगर सँयोजक बनेका गुरुङले नजिकिँदै गरेको उपनिर्वाचन भन्दा अगाडि नै महानगरका प्रत्येक वडामा संगठन विस्तार गरिसक्ने प्रतिबद्धता जनाए । उनी कान्तिपुर एकेडेमीका प्राचार्य तथा संचालक हुन् । उनी नेशनल प्याब्सनका कास्की जिल्ला सचिव समेत हुन् ।

कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुख केशव दाहाल, केन्द्रीय सदस्य विकल शेरचन, सुशीला केसी अधिकारी, पार्टीका केन्द्रीय सदस्य तथा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, पार्टीका युवा संगठन विभाग प्रमुख अब्दुस मियाँ, गण्डकी प्रदश संयोजक महेश भण्डारी, प्रदेश १ संयोजक अनिल भेटवाल लगाएतले शुभकामना दिएका थिए ।

त्यस्तै पार्टीमा नयाँ सदस्यले पनि आबद्धता जनाएका थिए । पार्टीमा नयाँ सदस्यता लिएका व्यक्तिहरुको तर्फबाट रजनी केसी र एकनारायण न्यौपानेले आफ्नो धारणा राखेका थिए ।

More News last news
Loading...