विजय नेपाल
पोखरा । पोखरामा आयोजित राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सोमबार फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धि होङ्ग्वान्जी न्यू डायमण्डलाई २५–१६, २५–१४ र २५–२० को सोझो सेटमा पराजित पराजित गर्दै पुलिसले पहिलो पटक उपाधि जितेको हो । यसअघि पुलिस ३ पटकसम्म न्यू डायमण्डसँग लामाचौरमा फाइनल खेलेको थियो ।

पुलिसले उपाधिसहित १ लाख र डायमण्डले ६५ हजार पाएका छन् । यस्तै तेश्रो हुन सफल गण्डकी प्रदेशले २५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । फाइनल अघि तेस्रो स्थानको लागि भएको खेलमा गण्डकीले श्री गाउँ खेलकुद विकास समिति दाङलाई सोझो सेटमै पराजित गरेको थियो । खेलमा २५–१३, २५–२० र २५–१८ को सोझो सेटमै दाङलाई पराजित गरेको हो ।

न्यू डायमण्डबाट सम्मिलित पोखरेली सिपोरा गुरुङले अघिल्लो दिनको तुलनामा फाइनल खेलमा त्यत्ति चल्न नसकेको स्वीकारिन् । फाइनल खेल हेर्न लामाचौरमा खचाखच दर्शक भरिएका थिए । नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा तीज महोत्सव अवसरमा सो प्रतियोगिता भएको हो । प्रतियोगितामा ६ टिमले भाग लिएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले जनाए ।
यस्तै, वेष्ट प्लेयर नेपाल पुलिसकी मनिषा चौधरी भइन् । वेष्ट सेटरको उपाधि पुलिसकी सुशीला थापा, ब्लकर पुलिसकै पुष्पा चौधरी, सर्भर डायमण्डकी झरना श्रेष्ठ, क्वीकर गण्डकीकी पवित्रा सेन्चुरी, लिब्रो गण्डकीकी रस्मिता दुरा र स्पाइकर नेपाल पुलिसकी कोपिला उप्रेती घोषित भए ।

विजयीलाई युवा तथा खेलुकद मन्त्री जगतबहादुर विश्वकर्मा लगायतले पुरस्कार वितरण गरेकोे प्रचारप्रसार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए । पाँचदिने महोत्सव अवसरमा राष्ट्रिय महिला भलिबल ३ दिनसम्म चलेको थियो । भलिबलमा विगतदेखि नै डायमण्डको वर्चश्व थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
