रिजन नेपाल
पोखरा । होङ्ग्वान्जी न्यू डायमण्ड र गण्डकी प्रदेश टिमले राष्ट्रिय महिला भलिवल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा लामाचौरमा शनिबार सुरु प्रतियोगितामा क्रमशः पहिलो र दोस्रो खेल जित्दै न्यू डायमण्ड र गण्डकी प्रदेश अघिल्लो चरण प्रवेश गरेका हुन्।
शनिवार नै गण्डकी प्रदेश र श्री गाउँ खेलकुद विकास समिति दाङबीच खेल भने वर्षाका कारण मध्यतिर आएर स्थगित हुन पुग्यो। सो खेल आइतवार सुरुवातदेखि नै खेलाइनेछ। पहिलो सेटमा जित (२५–२०) र दोस्रो सेटमा अग्रता (२२–१९) कायम गरेको गण्डकीको लागि भने आइतवार पुनः खेल हुने भएपछि धक्का लागेको छ।
दिनकै चौथो खेल न्यू डायमण्ड र नेपाल पुलिस क्लबबीचको खेल पनि स्थगित भएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए । सो खेल आइतवारको पहिलो खेल हुनेछ । वर्षाले खेल स्थगित भएपछि दर्शक तथा खेलाडी रुझेरै बस्नुपरेको अवस्था थियो। यसैबीच, गण्डकी प्रदेशले अघिल्लो खेलमा प्यारामाउण्ट बोर्डिङ स्कूल काठमाडौंलाई सोझो सेटमा पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको हो । खेलमा उसले २५—१४, २५—११, २५—१५ को सोझो सेटमा हराएको हो ।
दोश्रो खेलमा उपाधि दाबेदार न्यू डायमण्डले चितवन टाईगर्स क्लबलाई २५—१४, २५—२०, २५—१४ को सोझो सेटमा पराजित गर्न सफल भयो । तीन दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमको सहभागिता छ । साविक विजेता एपीएफ र जावलाखेल अन्तिम समयमा उपस्थित भएनन् । उनीहरुको स्थानमा श्रीराम र प्यारामाउण्टलाई भित्राइएको हो ।
यसैबीच, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालले भलिबल प्रतियोगिता उद्घाटन गर्दै प्रतियोगितामा राखेपबाट आवश्यक सहयोग गर्ने बताए । उनले लामाचौरको सो प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरकै भलिबल प्रतियोगिता गर्न सुझाव दिए ।
विजेतालाई १ लाख, उपविजेतालाई ६५ हजार र तेश्रोेलाई २५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने छ । उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने प्रचारप्रसार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । शुक्रबार सम्पन्न अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि करुणानिधि एजुकेशन फाउण्डेसन (केभ) ले जितेको छ ।
नरबहादुर बानियाँ स्मृति गण्डकी प्रदेशस्तरीय सितेरियो कराँते प्रतियोगिता गोरखा जिल्ला प्रथम भएको छ । ६ स्वर्ण, १ रजत र ३ काँस्य पदक सहित गोरखा प्रथम भएको कास्की जिल्ला सितेरियो कराँते संघका अध्यक्ष सुरेन्द्र गुरुङले बताए । २ स्वर्ण, ३ रजत र ५ काँस्य पदकका साथमा कास्की दोश्रो र २ स्वर्ण, १ रजत र ५ कास्य पदकको साथमा तनहुँ तेश्रो भयो ।
विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १० जिल्लाका १ सय २० जना खेलाडीले भाग लिएका थिए । गत भदौ १२ देखि सुरु महोत्सवअन्र्तगत तीज गीत प्रतियोगिता जारी छ । प्रतियोगितामा १३ टिमको सहभागिता जनाएका छन् ।
चोलेन्द्र पौडेल, माया गुरुङ, सुरज आचार्य लगायत कलाकारले प्रस्तुति राखेको जानकारी सांस्कृतिक संयोजक दिलबहादुर थापाले दिए । महोत्सवको मुख्य प्रायोजक डिस मिडिया प्रालि हो । महोत्सवमा ४० भन्दा बढी स्टल छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
