रिजन नेपाल
पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरामा शनिवारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ।
२३ औं लामाचौर तीज महोत्सव-२०७६ अवसरमा हुने सो प्रतियोगितामा नेपाल प्रहरी क्लब, न्यू डायमण्ड एकेडेमी, चितवन टाइगर्स क्लब, गण्डकी प्रदेश, प्यारामाउण्ड इङ्लिस बोर्डिङ स्कूल काठमाडौं, श्रीराम खेलकुद विकास समिति दाङ गरी ६ टिमको सहभागिता हुने खेल संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए।
यसअघि सशस्त्र प्रहरी बल (एपीएफ) र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र काठमाडांै समेत आउने भनिए पनि अन्तिम समयमा उनीहरुको उपस्थिति नहुने जनाएपछि आयोजकले सो स्थानमा प्यारामाउण्ट र श्रीराम खेलकुदलाई भित्राएको हो। एपीएफ डिफेण्डिङ च्याम्पियन हो। प्राविधिक कारण देखाउँदै एपीएफ र जावलाखेल नआएपछि रातारात टाइसिट परिवर्तन गर्नुपरेको खेल संयोजक श्रेष्ठले जनाए।

प्रतियोगितामा गण्डकी प्रदेश, प्यारामाउण्ट र श्रीराम खेलकुद विकास समिति समूह एमा छन् भने न्यू डायमण्ड, चितवन टाइगर्स र नेपाल पुलिस समूह बीमा छन्।
शनिबार बिहान ८ बजे हुने पहिलो खेलमा गण्डकी प्रदेश र प्यारामाउण्टबीच प्रतिष्पर्धा हुने छ। राखेप सदस्य सचिव रमेशकुमार सिलवालले शनिबार न्यू डायमण्ड र चितवन टाइगर्सबीचको दोस्रो खेल उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव प्रचारप्रसार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए।
तेस्रो खेलमा गण्डकी र श्रीराम खेलकुद तथा चौथो खेल न्यू डायमण्ड र नेपाल पुलिसबीच प्रतिष्पर्धा हुनेछ। विजेतालाई १ लाख, उपविजेतालाई ६५ हजार र तेश्रोेलाई २५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने छ । उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ।
शुक्रबार सम्पन्न अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि करुणानिधि एजुकेशन फाउण्डेसन (केभ) ले जितेको छ। केभले फाइनलमा डिफेण्डिङ च्याम्पियन टप्स माविलाई २५—१९, १९—२५, २५—१८, २२—२५, १५—१० को सेटमा पराजित गरेको हो । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्वितीय पुरस्कार १५ हजार छ।
नरबहादुर बानियाँ स्मृति गण्डकी प्रदेशस्तरीय सितेरियो कराँते प्रतियोगिता जारी रहेको समाजका अध्यक्ष कमलबहादुर थापाले जनाए। यसैबीच, भदौ १२ देखि सुरु महोत्सवअन्तर्गत विविध कार्यक्रम समेत जारी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
