रिजन नेपाल
पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा पोखराको लामाचौरमा विहीवार लामाचौर तीज महोत्सव–२०७६ शुरु भएकोे छ । तीज अवसरमा संस्थाले २३ औं संस्करणको रुपमा आयोजना गरेको सो महोत्सव पाँच दिनसम्म चल्नेछ ।
महोत्सवको गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले उद्घाटन गरिन् । उनले तीज पर्वलाई नेपाली परम्परा अनुसार मनाउन आग्रह गर्दै भड्किलो नबनाउन आग्रह गरिन् । उनले भनिन्, पछिल्लो समयमा तीज केही भड्किलो भएको जनगुनासो सुन्नुपरेको छ, अब सबै जनाले तीजको पर्वको मर्म र भावना अनुसार मनाउनु होला, यसलाई भड्किलो नबनाउनु होला ।
उनले महोत्सवले सामाजिक क्षेत्रमा समेत उल्लेख्य रुपमा योगदान दिँदै आएको उल्लेख गर्दै खेलकुदको विकासमा समेत टेवा पु¥याएको जनाइन्। कार्यक्रममा प्रदेश सांसद राजीव पहारी र रामजी बराल, कास्कीका नि.प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
“मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ आयोजित महोत्सवमा बैंकिङ, रेष्टुरेण्ट, बाल उद्यान, लगायतका करिब ४० वटा व्यापारिक स्टलहरु रहेको संस्थाका अध्यक्ष कमलबहादुर थापाले जानकारी दिए । यस्तै, शनिवारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सहित नेपाल प्रहरी क्लब, न्यू डायमण्ड एकेडेमी, चितवन टाईगर्स क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र काठमाडौँ र पश्चिमाञ्चल भलिबल टिम सहभागि हुने प्रचार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए। विजेतालाई १ लाख, उपविजेतालाई ६५ हजार र तेश्रोेलाई २५ हजार साथमा शील्ड, मेडल र प्रमाणपत्र वितरण गरिने छ ।उक्त अवसरमा एकता बुक्स अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिता समेत शुरु भएको छ।
राष्ट्रको खेलकुद क्षेत्रको विकास र विस्तारमा सहयोग गरी भातृत्व एवं भायचाराको सम्बन्धलाई स्वर्णिम बनाउने, नवप्रतिभावान् खेलाडीलाई प्रतिभा प्रष्फुटन गराउन तथा नेपालका उत्कृष्ट खेलाडीको खेल प्रदर्शन गर्न, अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि प्रोत्साहन गर्ने, मौलिक कला र लोकसंस्कृतिको जगेर्ना गर्दै संस्थाले समाजमा गरेको उल्लेख्य कार्यको जानकारी दिने लगायत उद्देश्य रहेको छ ।
महोत्सव इन्द्रराज्य लक्ष्मी मावि परिसरमा शुरु महोत्सवमा विविध सांगीतिक कार्यक्रम समेत हुनेछन् । महोत्सवको मुख्य प्रायोजन डिस मिडिया प्रालि हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
