काठमाडौँ । केही दिनअघि हङ्कङका सडकमा १७ लाख प्रजातन्त्रवादी प्रदर्शनकारीहरू भेला भएको आयोजकहरूले बताएका छन्। प्रहरीले चाहिँ प्रदर्शनकारीहरूको सङ्ख्या त्योभन्दा कम रहेको दाबी गरेको छ।
तर विगत तीन महिनादेखि आन्दोलन चर्किँदै जाँदा चीनले हङ्कङका प्रजातन्त्रवादी विरोधप्रदर्शनमाथि दमन गर्न सुरु गर्ने हो कि भन्ने चिन्ता बढेको छ। सन् १९९७ मा ब्रिटिश साम्राज्यबाट मुक्त भएको हङ्कङमा त्यस्तो कदमले के कस्तो प्रभाव पार्छ त्यो अनिश्चित छ। तर त्यस्तो कदमले चीनलाई ठूलो जोखिम हुनेछ।
उसको विशेष प्रशासित क्षेत्रको रूपमा रहेको हङ्कङ एशियाको एउटा मुख्या आर्थिक केन्द्र हो। हङ्कङको तुलनात्मक रूपमा बढी स्वतन्त्र वातावरणका कारण बेइजिङलाई धेरै लाभ पुगेको छ। अब सङ्कट चर्किँदै गयो भने बेइजिङलाई कस्तो प्रभाव पर्ला ?
आसन्न सङ्कट
बीबीसी चिनियाँ सेवाका सम्पादक हावर्ड झाङका विचारमा बेइजिङले हङ्कङमा केही कदम चाल्न सक्ने सङ्केत दिइसकेको छ। हालैका दिनहरूमा बेइजिङले हङ्कङका प्रदर्शकारीसँग कडा व्यवहार गर्ने सङ्केत दिँदै उनीहरूलाई ‘आतङ्कवादी’सँग तुलना गरिसकेको छ।
चिनियाँ सामाजिक सञ्जालहरूमा पनि प्रदर्शनविरोधी सामग्रीको सङ्ख्या बढेको छ। चीनले सामाजिक सञ्जालबाट हङ्कङमा भइरहेको आन्दोलनबारे भ्रामक सूचना फैलाउने अभियान चालेको पत्ता लागेको दाबी ट्विटर र फेसबुकले गरेका छन्।
विरल तर स्पष्ट चेतावनी दिँदै ब्रिटेनका लागि चिनियाँ राजदूत लिउ सियाओमिङले भनिन्, ‘यदि अवस्था अझै खराब भएर हङ्कङ सरकारले धान्नै नसक्ने स्थिति आयो भने चीनको केन्द्रीय सरकारले टुलुटुलु हेरेर मात्र बस्नेछैन।’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्कङका हिंसात्मक दमन सुरु होला कि भनेर आफू चिन्तित भएको बताएका छन्। उनले अगस्ट १३ तारिखमा ट्विटरमा सन्देश लेख्दै हङ्कङनजिकै पर्ने चिनियाँ मुख्यभूमिको सन्जनमा चिनियाँ सेना भेला भएको भन्दै चेतावनी दिएका थिए। त्यसको केही घण्टाअघि चिनियाँ उपप्रधानमन्त्री स्टेट काउन्सिलर जेइची याङले अमेरेकी विदेशमन्त्री माइक पोम्पेओसँग न्यूयोर्कमा भेटवार्ता गरेका थिए।
अर्थतन्त्रमा प्रभाव
एघार हप्तादेखि प्रदर्शन चर्किइरहेकोले अहिले हङ्कङ सहरको अर्थतन्त्रमा प्रभाव देखिन थालिसकेको छ। अर्थतन्त्रको २० प्रतिशत भाग ओगटेको पर्यटन र खुद्रा व्यापारमा त्यसको प्रत्यक्ष असर परिरहेको छ। वित्त क्षेत्रमा काम गर्ने मानिस तथा विमानस्थल र अन्य क्षेत्रका कर्मचारीहरू प्रदर्शनमा सहभागी भइरहेका छन्।
त्यसले एशियाकै प्रमुख व्यापारिक केन्द्रका व्यवसायहरूलाई प्रभावित तुल्याइदिएको छ। गत अगस्ट ५ तारिखमा भएको जस्तो प्रदर्शनका कारण झन्डै चार करोड देखि ३३ करोड अमेरिकी डलरसम्म घाटा हुने अनुमान विज्ञहरूले गरेको साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रले जनाएको छ।
झाङ भन्छन्, – चीनले प्रदर्शनकारीलाई चलाउन थाल्यो भने त्यो भन्दा चर्को मूल्य चुकाउनु पर्ने स्थिति आउन सक्छ। “आर्थिक केन्द्रको रूपमा हङ्कङको साख गिर्न सक्छ। बेइजिङले पनि पश्चिमा देशहरूको दबाव भोग्नु पर्नेछ। चीनको अर्थतन्त्र र अन्तर्राष्ट्रिय छविमा आँच आउनेछ।”
आर्थिक केन्द्र
चीनको अर्थतन्त्रका लागि हङ्कङ व्यापारिक र आर्थिक दुवै किसिमले महत्त्वपूर्ण छ। चिनियाँ आधिकारिक तथ्याङ्कअनुसार सन् २०१७र१८मा चीनमा गत १२५ अर्ब अमेरिकी डलर वैदेशिक लगानीमध्ये ९९ अर्ब डलर हङ्कङ हुँदै गएको थियो। त्यो कुल आर्थिक प्रवाहको ८० प्रतिशत हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
