पोखराको लेकसाईड २४ सै घण्टा खुल्नुपर्छ : प्रहरी प्रमुख खनाल

रिजन नेपाल

पोखरा । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडड चौबीसै घण्टा खुल्नुपर्ने वा नपर्ने भन्ने विषयमा बहस जारी रहेको बेलामा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्र चौबीसै घण्टा खुल्नुपर्छ भन्नेमा आफू सकारात्मक रहेको बताएका छन् ।

Advertisement

पोखरामा मंगलवार संघीय प्रहरी इकाइ कार्यालय पोखराको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा व्यारेक भवन शिलान्यास समारोहमा बोल्दै आईजी खनालले सो कुरा बताएका हुन् ।

उनले लेकसाइडमा हुने गरेका अवाञ्छित क्रियाकलाप तत्काल रोक्न गण्डकी प्रदेशका प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई निर्देशन समेत दिँदै भने ‘लेकसाइडमा पूरै अप्रेसन गरिदिनोस् । ल्याएर थुनिदिनोस् । ठूलो जरिवाना गराउनुहोस् । आवश्यक शान्तिसुरक्षा कायम गर्नोस् ।’

लेकसाइडबारे पछिल्लो विवाद आपूmले पनि सुनेको भन्दै भने, ‘समस्या समाधानका लागि नागरिक समाज, होटल व्यवसायी, डिस्को मिलेर आउनुहोस् । प्रहरी लाठी लिएर कतिञ्जेल बस्नुपर्ने ?’ होटल व्यवसाय, डिस्को वा अन्य व्यवसाय सबै निश्चित मापदण्डमा रहनुपर्नेमा जोड दिँदै दर्ता प्रक्रियामै ध्यान दिनुपर्ने बताए । उनले प्रहरीसँग सबै अधिकार नभएको उल्लेख गर्दै अन्तिममा थिग्रिन बेलामा मात्र प्रहरीकहाँ आउने परिपाटी हुन नहुने बताए ।

आफू इन्स्पेक्टर हुँदादेखि नै काठमाडौं ठमेल समेत नै चौबीसै घण्टा खुलाउनुपर्छ भन्ने पक्षमा रहेको भन्दै पर्यटकीय क्षेत्र (लेकसाइड) रातभर खुल्नुपर्ने उनको संकेत थियो । आईजी खनालले अपराध अनुसन्धान नियन्त्रणमा विश्वमै नेपाल प्रहरीको स्थान उच्च रहेको दाबी गरे । उनले नचाहिने गतिविधि हुन नहुने र भएमा तत्काल प्रहरी कठघरामा उभ्याइने चेतावनी दिए।

उनले शान्तिसुरक्षा स्थापनामा प्रविधिमैत्रीसँगै प्रहरीको उपस्थिति समेत आवश्यक पर्नेमा जोड दिए । विगतमा मुस्कानसहितको सेवा भनिए पनि त्यो प्रभावकारी नभएको टिप्पणी गर्दै आफ्नो पालामा ल्याइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम निकै प्रभावकारी बन्दै गएको दाबी गरे । सामुदायिक प्रहरीको नाममा प्रहरीलाई झाडु लगाउने काममा मात्र सीमित राख्न नहुने उनको जोड थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मनोहरप्रसाद खनाल, डीआईजी विनोद शर्मा घिमिरे, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारीले बोलेका थिए ।

डिएसपी कृष्णप्रसाद अधिकारीले संचालन गरेको कार्यक्रममा प्रहरी निरीक्षक चतुर्भुज बोहराले २ करोड ७८ लाख ७० हजार रुपैयाँ लागतमा साढे २ तले भवन (१६ कोठासहित) निर्माण गरिएको जानकारी दिए ।

More News last news
Loading...