गोरखा । भीमसेन थापा गाउँपालिकाले (आज) साउन ९ गते परेको राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको बैठकले भीमसेन थापाको जन्मजयन्तीका दिन गाउँपालिका भित्रका सरकारी कार्यालय र विद्यालयलाई बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए।
गाउँ कार्यपालिका कार्यालयले थापाको पुर्ख्यौली घर भएको स्थल भीमसेन थापा गाउँपालिका वडा नं. ८ चण्डीथानमा औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको पाण्डेले बताए। थापाको नामबाट गाउँपालिकाको नाम राखिएकाले उनको घर भएको ठाउँ विकासका लागि भीमसेन थापा स्मारक निर्माण गर्ने लक्ष्य राखेको अध्यक्ष पाण्डेले बताए।
सालिक राख्ने, सो घरलाई घेराबार पर्खाल लगाउने, पार्क बनाउने लगायतका योजना गाउँपालिकाको रहेको उनले बताए। सोही दिनमा भीमसेन थापाको जन्मस्थल भनेर चिनिएको गोरखा नगरपलिका ४ मा पिपलथोकमा पनि कार्यक्रम हुने भएको छ।
पिपलथोकमा गोरखा नगरपालिकाले भीमसेन थापाको सालिकसहित भीमसेन पार्क निर्माण गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
