प्रहरीले चलाएको गोली लागी घाइते भएका थापा को हुन् ?

रिजन नेपाल

पोखरा । लागुऔषध कारबारमा संलग्न भनिएका पोखरा १०, उत्तमचोकका ३० वर्षीय गोविन्द थापामाथि प्रहरीले गोली चलाएको छ ।

Advertisement

उत्तमचोकमा बुधबार बिहान सवा ११ बजे प्रहरीमाथि नै आक्रमण हुँदा आत्मरक्षाको लागि प्रहरीले चलाएको हो । बायाँ पिडौँलामा गोली लागेर घाइते भएका थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनाक्रमअनुसार सो स्थानको उत्तम क्याफे नजिकै लागुऔषध बिक्री वितरण भइरहेको सूचना आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गोविन्द सुवेदीको कमाण्डमा गएको प्रहरी टोलीले थापालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच सुरु गरेको थियो ।

यद्यपि चेकजाँचकै क्रममा प्रहरीमाथि अकस्मात आक्रमण गरी प्रहरीसँग रहेको हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ ।

गोली लागी सख्त घाइते थापाको तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारार्थ लगिएको हो । यता, टोलीमा संलग्न मध्ये एकजना प्रहरी सामान्य घाइते रहेको प्रहरी दाबी छ । घाईते प्रहरीलाई अमरसिंहचोकस्थित पार्कल्याण्ड हस्पिटलमा सामान्य उपचार गरेर डिस्चार्ज गरिसकिएको छ ।

प्रहरीले लागुऔषध कारोबारमा संलग्न भनिएका थापाको साथबाट लागुऔषध नर्फिन ५ सय एम्पुल, डाइजोपाम ५ सय एम्पुल र फेनरागन ५ सय एम्पुल बरामद गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । सेट्टा, डिके, जोन भनेर पनि चिनिने थापाबाट प्रहरीले ग१३प ८२२८ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल पनि बरामद गरेको छ ।

यसैबीच, प्रहरी अनुसन्धानपछि निज थापा सन् २०१४ देखि ०१८ सम्म वैदेशिक रोजगारक्रममा कतारमा रहेको अवस्थामा लागु औषध मुद्दामा ५ वर्ष जेल सजाय भोगेको बुझिएको छ ।

यस्तै गत वर्ष कात्तिक १५ मा पोखरा १७ मुस्ताङचोकस्थित स्थानीय २७ वर्षीय दीपेश गुरुङलाई ज्यानै लिने उद्देश्यले बाटो छेकेर धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएकोमा परेको उजुरी आधारमा कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

उता, प्रहरीले बुधबार नै पोखरा ९ घर भइ हाल पोखरा १० बुद्धचोक बस्ने ३८ वर्षीया देवीकुमार गुप्तालाई ठूलो परिणामको लागुऔषधसहित पक्राउ गर्न सफल भएको छ ।

दिउँसो सवा ३ बजे प्रहरीले अमरसिंहचौरमा गुप्ताको झोलाबाट डाइजोपाम ३ सय थान, फेनेरागन ३ सय थान र नर्फिन ३ सय थान लागुऔषध बरामद गर्न सफल भएको हो । प्रहरी अनुसन्धानमा निज गुप्ताका पति उदयकुमार गुप्ता समेत लागुऔषध मुद्दामा जिल्ला कारागार कार्यालय कास्कीमा रहेको खुलेको छ ।

उनका पति उदयकुमारले नै देवीलाई फोन गरी लागुऔषध लिएर आएका व्यक्तिसँग सामान बुझी अन्यत्र पठाउनू भनेपछि देवीले अमरसिंहचौरकमा गई सो झोला लिएको स्वीकारेको प्रहरीले जनाएको छ । सामान पठाएको ९० हजार रुपैयाँ बराबरको आईएमई भरपाई समेत प्रहरीले बरामद गरेको छ ।

 

More News last news
Loading...