९ जनाको विभत्स हत्या भएको ठाउँ नजिकै झुण्डिएको अवस्थामा एक युवकको शव फेला

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको शव फेला परेको छ।

मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईका अनुसार स्थानीय मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

Advertisement

युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेर प्रहरीले यस बारेमा अनुसन्धान थालेको छ।

प्रहरीले हत्यामा माखिमकै संलग्नता हुन सक्ने भन्दै त्यसतर्फ अनुसन्धान सोझ्याएको छ।

घटनामा परी घाइते भएकी प्रत्यक्षदर्शी १२ वर्षीया किशोरी सीता खुजुमले एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको बयान प्रहरीलाई दिएकी छन्।

हत्या गर्ने क्रममा हत्याराले अनुहार छापिने गरी मुकुन्डो लगाएको पनि बालिकाले बताएकी छिन्। अज्ञात समूहको निशानामा सीता खुजुम स्वयं पनि परेकी छन्। आक्रमणबाट उनको हात भाँचिएको छ। उनी भागेर ज्यान जोगाउन सफल भएकी छन्। उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि प्रहरीको भ्यानमा राखेर फिदिम ल्याइएको छ।

अज्ञात समूहले सोमबार मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो। हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ। शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ-दुई किलोमिटर टाढा छ।

घटनास्थल सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ। दशमीबजारस्थित प्रहरी चौकीको टोलीले घटनास्थल सुरक्षित गरिरहेको छ।

More News last news
Loading...