पाँचथरमा मध्यराति २ परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका-३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ।

घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

Advertisement

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको गुरुङले जानकारी दिए। वडाध्यक्ष हस्तराज फियाकले यो घटनाको पुष्टि गरेका छन्।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। उनी गम्भीर घाइते छिन्। मध्यरात भएको घटना स्थानीयवासीन्दाले बिहान मात्रै थाहा पाएका थिए। घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो।

घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ। प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिए।

More News last news
Loading...