हिउँमा फसेका तीन सय चौँरी मृत फेला

भारत । भारतको सिक्किम राज्यस्थित हिमाली क्षेत्रमा भएको ठूलो हिमपातका कारण फसेका कम्तीमा तीन सय चौँरी मरेका छन्।

सरकारी अधिकारी राज यादवका अनुसार ती पशुको शव शुक्रवार भेटिएको थियो। ती चौँरी गाई उक्त क्षेत्रमा डिसेम्बर महिनादेखि फसिरहेका थिए। उनीहरू खान नपाएर मरेको बताइएको छ।

Advertisement

जोगाउने प्रयास विफल
अधिकारीहरूले फसेका चौँरी गाईलाई हेलिकप्टरबाट आहारा झार्ने प्रयास पनि गरेका थिए। तर खराब मौसमका कारण त्यो सम्भव हुन सकेन। सो क्षेत्रमा हजारौँ वर्षदेखि चौँरी बसिरहेका छन्। तिनको प्रयोग दूध एवम् मासुका निम्ति मात्र नभई सरसामान ढुवानीका लागि पनि गरिन्छ।

“सो ठाउँमा पुग्ने बाटो बल्ल पाँच दिन अगाडि खुल्यो। त्यसपछि हाम्रो टोली पैदल सो ठाउँमा पुग्दा त्यो दु:खान्त घटना थाहा भयो,” यादवले भने। सिक्किम राज्यको उत्तरमा अवस्थित मुकुथाङ उपत्यकामा ती मरेका चौँरी गाई अधिकारीहरूले भेट्टाएका थिए।

हुन त बर्सेनि यसरी १० देखि १५ चौँरीले ज्यान गुमाउँछन्। तर यसपालि सङ्ख्या त अभिलेख राख्न थालेदेखिकै सबभन्दा धेरै हो। अझै पनि सो ठाउँमा ५० चौँरी फसिरहेका र तिनीहरूसम्म तत्काल पुग्ने प्रयास भइरहेको छ। चौँरीपालक परिवारलाई तीनवटा चौँरीसम्म प्रतिचौँरी भारु ३० हजार क्षतिपूर्ति दिइन्छ। बीबीसी

More News last news
Loading...