करोडौँ अस्ट्रेलियन डलर मूल्यबराबरको नोटमा गम्भिर त्रुटी

अस्ट्रेलियामा ५० डलरको नोटमा छापिएको एउटा शब्द अशुद्ध भएको पत्ता लागेको छ। रिजर्भ ब्याङ्क अफ अस्ट्रेलिया आरबीएले छापेको करोडौँ डलरको नयाँ नोटमा अङ्ग्रेजी शब्द “रिस्पोन्सबिलिटी” को हिज्जे बिग्रिएको छ।

आरबीएले नोटमा अशुद्धि भएको बिहीवार पुष्टि गरेको छ। उसले फेरि नोट मुद्रण गर्दा सो शब्द सच्याइने जनाएको छ। अहिलेसम्म झन्डै चार करोड ६० लाखवटा नोट वितरण भइसकेको छ।

Advertisement

सो नोट गत वर्षको उत्तरार्धमा निष्काशन गरिएको हो। त्यसमा अस्ट्रेलियको संसद्की पहिली महिला सदस्य इडिथ कावनको चित्र छापिएको छ। कावनको मुहारचित्रपछाडि रहेको बगैँचाजस्तो पृष्ठभूमिमा उनले संसद्‌मा गरेको पहिलो सम्बोधनको अंश छापिएको छ।

“यहाँ एक मात्र महिला हुनु ठूलो जिम्मेदारी हो। र म अरू महिला पनि यहाँ हुनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छु।”

यो आशयको उक्ति सूक्ष्म अक्षरमा धेरै चोटि छापिएको छ। त्यसमा भएको “जिम्मेदारी” बुझाउने अङ्ग्रेजी शब्दमा एउटा ‘आई’ छुट्दा भाषिक त्रुटि भएको हो। अक्षर सूक्ष्म भएकाले त्यो त्रुटि पत्ता लगाउन छ महिनाभन्दा बढी समय लाग्यो।

More News last news
Loading...