तनहुँको शुक्लागण्डकीमा १ सय ८ पिपलको विवाह

दुलेगौडा । तनहुँको शुक्लागण्डकी –२ गाछेपानीमा मुक्तिनाथको झल्को दिने गरि स्थापित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा १ सय ८ पिपल विधिपूर्वक विवाह (प्राणप्रतिष्ठा) गरिएको छ।

यसअघि यहाँ १ सय ८ धारा, शिवलिङ्ग स्थापना भइसकेका छन् । मंगलवार पञ्चेबाजा बजाएर पण्डितहरुले विधिपूर्वक पूजापाठ गरि पिपल सारिएको च्यवनधामका सचिव दुर्गादत्त सापकोटाले जानकारी दिए।

Advertisement

पिपल सारिएको स्थानलाई ॐ चौतारी नाम दिइएको छ । गत वर्ष श्रावण महिनामा आयोजना गरिएको बोलबम शिव महिमा कार्यक्रममा संकलन भएको ६ लाख रुपैयाबाट चौतारी निर्माण गरिएको समितिले जनाएको छ।

‘पिपललाई जबसम्म विधिपूर्वक प्राणप्रतिष्ठा गरिदैन, तबसम्म पूजाआजा गरेपनि फल पाइदैन भन्ने धार्मिक विश्वासका कारण सार्नुअघि पूजाआजा गरेका हौं, उनले भने ।’ उनका अनुसार पिपलको पुजा गर्दा परिवारका सदस्यहरु कुलतमा नलाग्ने र सुख शान्ति कायम हुने धार्मिक विश्वास छ।

धार्मिक क्षेत्रको रुपमा विकास हुदै गरेको च्यवनधाममा १ सय ८ पिपल नहुदा भक्तजनहरु पाल्पासम्म पुग्ने गरेकाले चौतारो बनाइको सापकोटाले बताए । सो पिपल स्याङजाको चापाकोटस्थित पिपल बाजेकहाँबा ल्याईएको उनले जानकारी दिए । प्राणप्रतिष्ठाको अवसरमा दाता एवम् भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो।

करिव २५ रोपनी क्षेत्रफलमा फैलिएको परिसरमा मुख्य मन्दिर शुक्लेश्वर महादेव मन्दिर रहेको छ । मुख्य मन्दिरको चारैतर्फ दुर्गा, सुर्यनारायण, लक्ष्मीनारायण र गणेश मन्दिर निर्माण गरिएको छ ।

साथै पूर्वतर्फ मोक्ष कुण्ड र १ सय ८ धारा रहेको छ । मन्दिरमा हरेक वर्षको श्रावण महिनाको सोमवार, नवदुर्गा, बालाचतुदर्शी, माघेसंक्रान्ति, शिवरात्रीमा भक्तजनको भिड लाग्ने गरेको छ । मिलेनियम ट्रेकको प्रस्थान विन्दु धामबाट जिल्लाकै प्रशिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिर पुग्न सकिन्छ । ७२ किलोमिटरको सो पदमार्ग स्याङजाको माझकोट मनकामना सम्म पुगेर टुङिगन्छ।

वि.स. २०६७ सालमा पहिलो पटक महायज्ञ गरि संकलन गरिएको १ करोड ५१ लख रुपैयाले भौतिक पूर्वाधारको काम शुरु गरिएको थियो । अरु समुदायलाई पनि समेट्दै धाम परिसरमा गुम्बा समेत निर्माण गरिएको छ। २०७१ सालदेखि प्रत्येक वर्ष नियमित रुपमा शिव महिमा लगाउने गरिएको छ।

सेती नदिको किनारमा रहेको सो मन्दिरको पारिपट्टि वडा नं. ९ घारीमा हालै गौं संरक्षण केन्द्र स्थापना गरिएको छ। आगामी दिनमा भूमिगत तपोभूमि र धारामाथि हिमालको आकृति बनाउने योजना रहेको उनको भनाई छ।

मन्दिर परिसरमा गाई राख्ने गौशाला बनाएर धामको पवित्रतालाई कायम गर्ने र सेतीमा झलुङ्गे पुल निर्माण गरि धाम र केन्द्रलाई जोड्ने योजना रहेको सापकोटाले सुनाए।

शुक्लागण्डकी एफएम/तनहुँ

More News last news
Loading...