बाङ्ग्लादेशमा फानी आँधीले १,००० भन्दा धेरै घर ध्वस्त

बाङ्ग्लादेश। भारतको ओडिशा राज्यबाट सरेर बाङ्ग्लादेश पुगुञ्जेल फानी (फणी) नामक समुन्द्री आँधीको शक्ति केही क्षीण त भएको भएपनि त्यसले ध्वंस मच्चाएको छ।

बाङ्ग्लादेशमा एक हजारभन्दा धेरै घरहरू ध्वस्त भएका छन् तथा गाउँहरू जलमग्न भएका छन्। झन्डै दश लाख मानिसलाई सुरक्षित स्थलमा सारिएको भन्दै बाङ्ग्लादेश जल तथा मौसम विभागका निर्देशकले ठूलो विपद्को त्रास भने लगभग सकिएको बताए। भारतमा भने क्षति कम गर्न गरिएको स्थान्तान्तरणलाई सफल भएको मानिएको छ।

Advertisement

शक्ति क्षीण
आँधीले शक्ति गुमाउँदै गर्दा त्यसलाई अब केवल न्युन चाप वा डिप्रेसन मात्र भन्न थालिएको छ। तापनि त्यसले तटीय क्षेत्रका दर्जनौँ गाउँहरूलाई डुबानमा पारिदिएको छ। प्रतिघण्टा ७० किलोमिटर वेगसम्मका हुरी चलेको बताइएको छ।

नवखली जिल्लामा केही घरहरू ध्वस्त भएको र ३० जना घाइते भएका छन् भने दुई बालबालिका मारिएका छन्। भारतमा पनि सो आँधीको प्रहारबाट जोगाउन दश लाखभन्दा धेरै मानिसलाई अन्यत्र सारिएको थियो।

शुक्रवार भारतको तटमा प्रहार गरेको उक्त आँधीका कारण त्यहाँ कम्तीमा १६ जनाले ज्यान गुमाएका छन्। तर अधिकारीहरूले पूर्व सावधानी नअपनाइएको भए मानवीय क्षति त्योभन्दा निकै धेरै हुनसक्ने बताएका छन्। सन १९९९ मा आएको एक शक्तिशाली आँधीले ओडिशामा ३० घण्टासम्म प्रभाव पारेको थियो र दश हजार मानिसको ज्यान लिएको थियो।

भारतको प्रशंसा
सन् १९९९ यता भारतमा पूर्व सावधानीका प्रणाली निकै सुधारिएका छन्। अधिकारीहरूलाई समयमै मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने समय मिलेको छ।

ओडिशा राज्यका मुख्यमन्त्रीका अनुसार मानव इतिहासमै मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको यो एउटा राम्रो उदाहरण हो। ओडिशा प्रहरीका महानिरीक्षक अरुण बोथ्रोले मानिसहरूलाई सुरक्षित तुल्याउन भएका प्रयासको प्रशंसा गरे।

More News last news
Loading...