पोखरेलीको पौरख सिहदबार भित्र्याउँदै नमुना वडा १३

पोखरा। स्मार्ट सिटीको अवधारणाअनुरूप पोखरा महानगरपालिका-१३ नेपालमै नमुना वडाका रूपमा अघि बढेको छ।

सेवाग्राहीको काम गर्ने थलो कुँडहरस्थित वडा कार्यालय पुग्दा लाग्छ, ‘साँच्चै सिंहदरबार भित्रिएछ।’ २०७४ सालको स्थानीय तह निर्वाचनपछि चुनिएका वडा अध्यक्षसहित जनप्रतिनिधिले नमुना वडा बनाउन वडा कार्यालयबाटै काम थाले। विगतमा एक कोठामा मात्र सीमित वडा कार्यालयले सेवा प्रवाह चुस्त पारेको छ नै। यसका अतिरिक्त महानगरमै पहिलोपटक स्मार्ट नागरिक बडापत्र, सीसी टिभी क्यामरा, स्मार्ट कार्ड, कर्मचारी कक्ष, हेल्थ ल्याब, सुन्दर गार्डेन, कन्फरेन्स हल निर्माण गरेको छ । साथै अपांगता भएका व्यक्ति, अशक्त र वृद्धवृद्धामैत्री कार्यालय यसको नमुनायोग्य कार्य हो ।

Advertisement

शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत विकासका पूर्वाधारमा पनि वडाका जनप्रतिनिधि लागिपरेका छन् । केही गरौँ भन्ने जोस लिएर अघि बढेका छन् युवा वडा अध्यक्ष लेखबहादुर तमाङ (दर्शन लामा) र उनलाई तनमन दिएर सघाइरहेका छन् सदस्यका रूपमा रहेका सारथिहरूले। ‘गरे के हुन्न र काम गर्ने जोसजाँगर र हिम्मत लिने हो भने असम्भव भन्ने कुनै चिज छैन,’ वडा नम्बर १ लाई मुलुककै नमुना वडा बनाउन कम्मर कसेर लागेका तामाङ भन्छन् ‘विगतमा जनप्रतिनिधि नहुँदा सबैको मनलाग्दी भो, सामाजिक जटिलता उत्तिकै आए । तर हामीहरू चुनिएर आइसकेपछि सभ्य समाज निर्माण र स्मार्ट सिटीको अवधारणाअनुरूप वडालाई नमुना बनाउन लागिपरेका छौं।’ उनले सबै वडावासीको सहयोग र साथ पाएमा वडालाई अझै स्मार्ट र नमुनायोग्य बनाउन सकिने बताए।

वैशाख पहिलो साता वडा कार्यालय पुग्दा वडा अध्यक्ष सेवाग्राहीको काममा खटिएका देखिन्थे । दिनरात नभनी सेवामा खटिने उनले आफू मातहतका कर्मचारीलाई पनि कामको जिम्मेवारी बाँडफाँट गरिदिएका छन् । जनताको अप्ठ्यारो सल्टाउन कुन कर्मचारीले के गर्ने भन्ने जिम्मेवारी छ । कर तिर्न, सिफारिस बनाउनलगायत विभिन्न कामका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था छ । वडामै पुगे १ हजार स्क्वायर वर्ग मिटरको घरनक्सा पास गरिन्छ। महानगरको कर तिर्ने व्यवस्था छँदै छ।
उनले सुनाए, ‘सुरुमा हस्तलिखित थियो। अहिले अधिकांश कार्य कम्प्युटर माध्यमबाट हुन्छ। कोही पनि रोकिनुपर्दैन। मिल्ने काम तत्कालै गरेर पठाउँछौं।’

वडाले गत वर्षको मंसिर १२ मा महानगरमै पहिलोपटक स्मार्ट परिचयपत्र वितरण सुरु गरेको थियो। मालिका सफ्टवेयर नेपालको सहकार्यमा तयार पारिएको प्रविधिमैत्री सो कार्डमा सेवाग्राहीको सम्पूर्ण विवरण उल्लेख छ। जसको सहयोगले तुरुन्तै काम लिन सकिन्छ। नमुनाको रूपमा सुरु भएको सो कार्ड अबको आर्थिक वर्षदेखि सबैलाई वितरण गरिने वडा अध्यक्ष दर्शन लामाले जानकारी दिए। आजको राजधानी दैनिकमा विजय नेपालले खबर लेखेका छन्।

More News last news
Loading...