आमा तरकारी बारीमा गएका बेला गोठमा आगलागी, एक बालकको मृत्यु

गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ देवीस्थानस्थित एक गोठमा आज आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ।

देवीस्थान छरछरेका विमल सुनारको गोठमा आगलागी हुँदा उहाँका तीन वर्षीय छोरा विशाल सुनारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

Advertisement

आमा तरकारी टिप्न बारीमा गएको र बालबालिका गोठमा खेलिरहेको समयमा आगलागी भएको निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुवीर विकले जानकारी दिए।

आगलागीमा परेर मृतक विशाल सुनारका दाजु विनोदसुनार सामान्य घाइते भएका छन्। गोठको भारमा आगलागी भएको भए पनि गोठको तल्लो भागमा रहेका गाईबस्तुलाई कुनै क्षति नभएको बताइएको छ।

भारमा भएको पराल र अन्य सामग्री भने जलेर पूर्णरुपमा नष्ट हुँदा करीब रु तीन लाख बराबरको आर्थिक क्षति भएको वडाध्यक्ष विकले बताए।

आगलागीपश्चात् स्थानीयको जानकारीमा घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय झिवाखोलाको टोलीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...