डुङ्गा ठोक्किएपछि पुल भत्कियो, एउटा राज्यमा सङ्कटकाल

ब्राजिल । दक्षिणी ब्राजिलको परा राज्यमा फेरी डुङ्गा ठोक्किएपछि मोजु नदीमाथि बनेको दुई सय मिटर लामो पुलको एउटा खण्ड भत्किएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार ८६० मिटर लामो सो पुलको एउटा खम्बामा डुङ्गा ठोक्किएको थियो र पुलमा गुडिरहेका दुईवटा कार नदीमा खसेका थिए।

Advertisement

सो घटनामा कति व्यक्ति परे वा घाइते भए भन्ने स्पष्ट भएको छैन। गोताखोरहरूले नदीभित्र खोजी गरिरहेका छन्। सो डुङ्गामा भएका चालकदलका पाँच जना भने सकुशल रहेको बताइएको छ।

पुल भत्किएपछि परा राज्यका प्रमुख एल्दर बाहबाल्योले राज्यमा सङ्कटकाल घोषणा गरेका छन्। हाम्रो प्राथमिकता पीडितहरूको खोजी गर्नु र तिनका परिवारलाई पूर्ण रूपमा सहयोग गर्नु हो, उनले सरकारी सञ्चारमाध्यमलाई भने। बाहबाल्योले ट्विटरमा पुल भत्किएको दृष्य हालेका छन्।

ब्राजिलको एमेजन क्षेत्रमा भएको सो पुल देशको अतिव्यस्त मानिने बेलेङ बन्दरगाह जाने बाटोमा पर्छ। सरकारी निकायहरूले नदीबाट पुलको भग्नावशेष हटाउने प्रयास गरिरहेका छन्।

पुल नबनुन्जेल मानिसहरूलाई नदी तार्न साना डुङ्गाको व्यवस्था गरिएको छ। नजिकै रहेका अरू पुलका खम्बाहरूमा नदीमा चल्ने डुङ्गालाई सतर्क गराउन सङ्केतहरू राखिएको छ।

स्थानीय सञ्चारमाध्यममा सो पुलका खम्बाहरूमा केही समयअघि गरिएको निरीक्षणमा खिया लागेको देखिएको समाचार प्रकाशित भएको थियो।

More News last news
Loading...