हिन्दूबारे आपत्तिजनक टिप्पणी गर्ने मन्त्रीलाई पदबाट हटायो

बीबीसी । हिन्दू धर्मावलम्बीबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि पाकिस्तानको पन्जाब प्रान्तका सूचना तथा संस्कृतिमन्त्रीले पद गुमाएका छन्।

त्यस्तो अभिव्यक्ति दिएपछि मुख्यमन्त्री सरदार उस्मान बुजदारले ती मन्त्री फैयाज अल हसन चौहानलाई डाकेका थिए। त्यसपछि चौहानको राजीनामा आयो।

Advertisement

प्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले ‘हिन्दू समुदायप्रति अपमानजनक शब्द प्रयोग गरेकोमा पन्जाब सरकारद्वारा उनी पदमुक्त गरिएको’ जनाएको छ।

त्यस्तो अभिव्यक्ति दिएको भिडिओ बाहिर आएपछि त्यसको निकै आलोचना भइरहेको थियो।

एकजुट भई आलोचना
चौहानले हिन्दूहरूलाई ‘गाईको मूत्र पिउनेहरू’ भन्दै भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए।

पाकिस्तानमा सामाजिक सञ्जालमा #SackFayazChohan र #Hindus ट्रेन्डिङमा थिए।

मुख्यमन्त्रीको तर्फबाट जारी गरिएको वक्तव्यमा इमरान खान नेतृत्वको दललाई कुनै पनि किसिमको भेदभाव सह्य नहुने कुरा उल्लेख छ। समाजिक सञ्जालमा मात्र होइन पीटीआई पार्टीका नेताहरूले पनि उनको चर्को आलोचना गरे।

‘सह्य नहुने’

चौहानले फेब्रुअरी २४ मा लहोरमा आयोजित एउटा कार्यक्रममा उक्त विवादास्पद धारणा व्यक्त गरेका थिए। तर त्यसको भिडिओ सोमवार व्यापक भएको थियो।

प्रधानमन्त्री इमरान खानका राजनीतिक मामिला सल्लाहकार नईमुल हकले एउटा ट्वीट गर्दै भनेका थिए, चाहे सरकारकै वरिष्ठ सदस्य वा अरू कोहीले गरून्, यस्ता कुरा पीटीआईको निम्ति सह्य हुँदैन।

उनले भनेका थिए, “हिन्दू समुदायविरूद्ध पन्जाबका सूचनामन्त्री फैयाज चौहानको अपमानजनक भनाइलाई लिएर कडा कारबाही हुनुपर्छ। मुख्यमन्त्रीसँग सल्लाह लिएपछि उनीमाथि कारबाही गरिनेछ।”

More News last news
Loading...