अमेरिका । अमेरिकाले केही वर्षअघि सैनिक कारवाहीमा मारिएका आतंकवादी संगठन अलकायदाका नेता ओसामाबिन लादेनका छोरा हम्जाबिन लादेनको सूचना दिनेलाई १० लाख डलरसम्मको पुरस्कार दिइने घोषणा गरेको छ ।
अमेरिकी सुरक्षा अधिकारीका अनुसार विगतका समयमा ओसामाका छोरा हम्जा इस्लामीक उग्रवादीहरुको नेताका रुपमा उदाइरहेका छन् । उनी अफगान-पाक सीमा क्षेत्रमा लुकेर बसेको हुनसक्ने आशंका सुरक्षा अधिकारीहरुको छ ।
केही वर्ष यता उनले विभिन्न अडियो र भिडियो सन्देश जारी गर्दै आफ्नो बुवाको हत्याको बदला लिन अमेरिका र उसको सहयोगी राष्ट्रमाथि हमला गर्न आह्वान गर्दै आइरहेका छन्।
सन् २०११ मा अमेरिकी विशेष सेनाले ओसामाबिन लादेनलाई पाकिस्तानको अबोटावादस्थित एक घरमा लुकेर बसिरहेको अवस्थामा आक्रमण गरी मारेका थिए । २००१ मा अमेरिकामा तीन हजारजनाको ज्यान जाने गरी भएको आतंकवादी हमला उनैले गराएको दाबी अमेरिकाको छ।
ओसामा लुकेर बसेको घरबाट प्राप्त गरिएका चिठ्ठीपत्रहरुका आधारमा लादेनले आफ्नो छोरा हम्जालाई आफूपछि अलकायदाको नेतृत्वका लागि तयार पारेको दाबी अमेरिकी अधिकारीहरुले गर्दै आएका छन् । उनीहरुका अनुसार ३० वर्षीय हम्जाले केही समय अघि मात्रै न्यूयोर्कस्थित ट्विन टावरमा विमान ठोकाउने मध्येका एक मोहम्मद अट्टाकी छोरीसँग विवहासमेत गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
