बीबीसी । भारतीय वायुसेनाले भारत-पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन्, मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको छ।
उनले ट्वीटमा भनेका छन्, ‘भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे। पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल र प्रभावशाली कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले।’
‘भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाए जुन बालाकोटनजिकै खसे। त्यसबाट कुनै हानि या कोही हताहत भएको छैन।’
भारत र पाकिस्तानबीच कश्मीरको पुलवामामा भएको आक्रमणपछि तनावको स्थिति रहेका बेला पाकिस्तानको यस्तो दाबी सार्वजनिक भएको छ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफले भारतीय सेनाले बम खसालेको भन्दै यो तस्बिर ट्वीट गरेका छन्। फेब्रुअरी १४ का दिन भएको आक्रमण पाकिस्तानले गराएको आरोप भारतीय पक्षले लगाएको छ र उसलाई अलग्याइदिने चेतावनी दिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारी तथा षडयन्त्रकारीहरूले महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिए। पाकिस्तानले भने आक्रमणमा आफ्नो भूमिका रहेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशमाथि आक्रमण प्रतिकार गर्ने बताएका थिए। वार्ताबाट मात्र कश्मीरको विवाद समाधान गर्न सकिने तर भारतले सैन्य कारबाही गरे आफूले प्रत्युत्तर दिने उनले बताएका थिए।
कश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईचोटि युद्ध भइसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
