विजय नेपाल
पोखरा । पोखरा रंगशालामा जारी १७ औं आहा रारा गोल्कडपमा त्रिभुवन आर्मी क्लबले झण्डै हारको मुखमा पुगेर पनि उत्कृष्ट कम ब्याम गर्दै जित हासिल गरेको छ। उसले २० मिनेटअन्तरमा ३ गोल गर्दै लोभलाग्दो प्रदर्शन साथ ३–१ गोलअन्तरले विजयी भयो।
हिमालयन शेर्पा क्लबसँग दोस्रो क्वाटरफाइनलमा आर्मीले ७१ औं मिनेटमा मात्र बराबरी खेलेको थियो। आर्मीको लागि नवयुगले २ र जर्ज प्रिन्स कार्कीले १ गोलको योगदान दिए। प्रतियोगितामा नवयुग नै म्यान अफ दी म्याच बने।
२७ औं मिनेटमा विपक्षीको गोलबाट आर्मी पछि परेको थियो। हिमालयन शेर्पाका लागि विदेशी खेलाडी प्याट्रिक प्राइभट गोहाले गोल गर्दै टिमलाई अग्रता दिलाए।
त्रिदेव गुरुङको पासमा डि–बक्समा रहेका गोहाले सेकेण्ड बार च्याप्दै हानेको बलले सिधँै जाली चुमेको थियो। पहिलो हाफ १–० मै टुंगिए पनि दोस्रो हाफमा आर्मीले विपक्षीलाई पूरै दबाबमा राख्यो।
चिसो–चिसो मौसमबीच तात्तिएको खेलमा खेल सकिन २० मिनेट बाँकी रहँदा नवयुगले गोलको खडेरी तोडे। सन्तोष तामाङको लङ फ्रि किकलाई डि-बक्समा रहेका नवयुगले हेडमार्फत गोल गरेका हुन्।
८० मिनेटमा उनैले सेन्टर एरियाबाट लगेको बललाई जाली चुमाउँदै जित सुनिश्चित पारे। विदेशी खेलाडी युल्रिच सीवीबाट डिफ्लेक्ट भएको बल नवयुगले एक्लै अघि बढाउँदै विपक्षी पोष्टमा कडा प्रहार गर्दा जितको सञ्चार हुन पुगेको हो।
त्यस्तै दोस्रो हाफको इञ्जरी टाइमको पहिलो मिनेटमा आर्मीले गोलअन्तर बढायो। जर्ज प्रिन्स कार्कीले गरेको पहिलो प्रहार कीपर किशोर गिरीले पञ्च गरी जोगाउन खोज्दा रिबाउण्ड बल डिबक्स लाइनमै रहेका कार्कीको दोस्रो प्रहारले गोलपोष्टको फ्रेम लिन पुग्यो।
६५ औं मिनेटमा प्रशिक्षक नवीन न्यौपानेले टंक बस्नेतको ठाउँमा कार्कीलाई छिराएपछि आर्मीले लय पक्डिएको देखियो। हिमालयनको लागि गोलका खासै मुझ नभेटिँदा आर्मीले भने आधा दर्जन गोलका अवसर खेर फाल्यो। ६८ औं मिनेटमा नवयुगकोे क्रसबसमा प्रिन्सको हेड क्रसबार हुँदै बाहिरियो।
१४ औं मिनेटमा सन्तोष तामाङले झण्डै सेन्टरबाट लगेको वान भर्सेस वान बल कीपरले क्लीयर गर्दा अग्रता लिने मौका गुम्यो। ३५ औ मिनेटमा सन्तोषले डिबक्स नजिकबाट गरेको कडा प्रहार विपक्षी रवी थापाले जोगाए भने ३७ औं मिनेटमा टंक बस्नेतले वान भर्सेस वान बल खेर फाले।
आर्मीले यस सिजनमा २ उपाधि भित्राइसकेको छ। इटहरीको मदन भण्डारी मेमोरियल गोल्डकप र वीरगञ्जको विशाल मेमोरियल गोल्डकपको उपाधि विजेता आर्मीले सिमरा गोल्डकपको फाइनलमा भने थ्रीस्टारलाई उपाधि सुम्पेको थियो।
आर्मीले विशाल मेमोरियलमा हिमालयनलाई फाइनलमा सडनडेथको शिकार बनाएकोमा आहारारामा भने अन्तिम समयमा सम्हालिन नसक्दा हिमालयनको लागि बदला लिने मौका चुक्यो। सोमबार युनाइटेड सिक्किम र थ्रीस्टारबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
