ट्रम्पलाई भेट्न किम रेल चढेर जालान् त ?

बीबीसी । उत्तर कोरियाका नेता जिम जङ(अन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुन लागेको शिखरवार्तामा भाग लिन रेल चढेर छिट्टै भियतनाम जाने योजनामा भएको भन्दै विवरणहरू सञ्चारमाध्यममा आएका छन्।

प्योङ्याङबाट यदि उनी त्यसरी हनोई गए भने सो यात्रा कम्तीमा तीन हजार किलोमिटर लामो हुनेछ र त्यसका लागि कम्तीमा दुई दिन लाग्नेछ। तर किमको यात्रासम्बन्धी योजनाहरू प्रायः अतिगोप्य हुने गर्छन्।

Advertisement

ट्रम्प र किमबीच सिङ्गापुरमा भएको अघिल्लो शिखरवार्ताको योजना पनि यसरी नै रहस्यको गर्भमा राखिएको थियो। हवाईमार्गबाट जाने स्पष्ट भए पनि अन्तिम समयसम्म उनी कुन विमानमा सिङ्गापुरमा अवतरण गर्छन् भन्ने जानकारी दिइएको थिएन।

हनोई आइनपुगेसम्म उनले कुन मार्ग वा माध्यम प्रयोग गर्छन् हामीलाई थाहा नपाउन सक्छौँ।

किमले कुन मार्ग रोज्लान् ?
सूत्रहरूलाई उद्धृत गर्दै जापानी र दक्षिण कोरियाली सञ्चारमाध्यमले किम आफ्नो निजी रेल चढेर प्योङ्याङबाट सीमावर्ती डान्डोङ हुँदै चीन प्रवेश गर्ने र त्यहाँबाट रेलमार्ग हुँदै भियतनाम जाने सम्भावना रहेको पहिला जनाएका थिए।

पछि समाचारसंस्था रोएटर्सलाई सूत्रहरूले किम भियतनामी सीमामा रहेको दोङ दाङ स्टेशनमा ओर्लिएर आफैँ गाडी हाँकेर १७० किलोमिटर पर रहेको हनोई जाने बताए।

एनके न्यूजले भने किम सीधै रेलबाट हनोई जाने र उनको रेलयात्राको दूरी ४,१५३ किलोमिटर हुने अनुमान गरेको थियो। रेलयात्रासम्बन्धी वेब्साइट चलाउने मार्क स्मिथ भन्छन्, यदि किम हनोई जाने रेल चढे भने उनी सम्भवतः गिया लाम स्टेशनमा रोकिन्छन्। उनका अनुसार किमको निजी रेल कुद्न उपयुक्त पटरी त्यो स्टेशनमा छ।

रोएटर्सका अनुसार किमलाई हनोई पुग्न साढे दुई दिन लाग्न सक्छ। उनी सोमवार भियतनाम पुग्ने अपेक्षा गरिएको छ। त्यसका लागि उनले बेलैमा आफ्नो यात्रा थाल्नुपर्छ।

सोझै रेलबाट वा दोङ दाङमा ओर्लिई कार चढेर हनोई जाँदा यात्राको समय फरक पर्न सक्छ। पूरै यात्रा रेलबाट गरे झन्डै तीन रात लाग्ने स्मिथको भनाइ छ।

उनी भन्छन्, प्योङ्याङबाट बेइजिङ पुग्न २४ घण्टाभन्दा कम र बेइजिङबाट हनोई पुग्न दुई दिनजति लाग्छ। उनको रेलको गति १६० किलोमिटर प्रतिघण्टाभन्दा बढी हुने सम्भावना छैन।

किमले त्यति लामो यात्रा किन रेलबाट गर्न खोज्लान् भन्ने स्पष्ट छैन। उनका बुवा किम जङ(इल र हजुरबुवा किम इल(सङलाई विमानमा उड्दा डर लाग्ने गरेको बताइन्छ। उनीहरू हवाईयात्रा गर्दैनथे।

गत जुन महिनामा ट्रम्पसँग वार्ता गर्न किम एअर चाइनाको विमान चढेर सिङ्गापुर गएका थिए। उनलाई आफ्ना पूर्वजको जस्तो समस्या नभएको देखिन्छ। तर विमानबाट भन्दा रेलबाट यात्रा गर्दा धेरै सजिलो हुने स्मिथको बुझाइ छ।

उनी भन्छन्, किमको रेलमा कार्यकक्ष, विश्रामकक्ष र शयनकक्ष भएको हुने सम्भावना छ। रेलमो उनलाई यताउता गर्न पर्याप्त ठाउँ हुन्छ र धेरै काम गराउन सक्छन् एवम् आरामपूर्वक गन्तव्यमो पुग्न सक्छन्।

More News last news
Loading...