बीबीसी । साउदी अरेबियाले कमजोर अर्थतन्त्रमा सुधार गर्ने प्रयास गरिरहेको पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने सहमति गरेको छ।
साउदी युवराज मोहम्मद बिन सलमान एशिया भ्रमणको सिलसिलामा पाकिस्तान पुग्दा ठूलो लगानीको घोषणा भएको हो। चरम आर्थिक सङ्कट खेपिरहेको पाकिस्तानले आफ्नो स्थिति सुधार्न अन्तर्राष्ट्रिय सहयोग खोज्दै आएको छ।
सहमतिअनुसार आठ अर्ब डलर रकम बन्दरगाह सहर ग्वादारको खनिज तेल प्रशोधन केन्द्रमा लगानी गरिनेछ। साउदी र पाकिस्तानी पक्षहरूले ऊर्जा, पेट्रोकेमिकल र खनिज क्षेत्रसँग सम्बन्धित विभिन्न सहमतिपत्रहरूमा हस्ताक्षर गरेका छन्।
साउदी युवराजले भने, पहिलो चरणको लागि यो ठूलो सहयोगे हो, र यो प्रत्येक महिना र वर्षमा बढ्नेछ। यसबाट दुवै देश लाभान्वित हुनेछन्।
पाकिस्तानको वैदेशिक मुद्रासञ्चय घट्दै गएको छ। हाल पाकिस्तानको राज्यकोषमा कुल आठ अर्ब डलर विदेशी मुद्रा मात्र छ।
अन्तर्राष्ट्रिय मुद्राकोषबाट कडा शर्तहरू मानेर सम्भवतः लिनुपर्ने विशेष सहयोगको रकम घटाउन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मित्रराष्ट्रहरूसँग सहायता खोजिरहेका छन्।
सन् १९८० को दशकको उत्तरार्धयता पाकिस्तानले आफ्नो उद्धारका लागि सहयोग खोजेको यो १३ औँ पटक हो। साउदी अरेबियाले यसअघि छ अर्ब डलर ऋण दिइसकेको छ।
एमबीएस उपनामले परिचित साउदी युवराज विवादास्पद मानिन्छन्। उनले आफ्नो एशिया भ्रमण पाकिस्तानबाट सुरु गरे। उनी मङ्गलवार भारत जानेछन् भने बिहीवार र शुक्रवार चीन।
गत अक्टोबर महिनामा पत्रकार जमाल खशोग्जीको टर्कीस्थित दूतावासमा हत्या भएपछि युवराज मोहम्मद बिन सलमानको अन्तर्राष्ट्रिय छवि बिग्रिएको थियो। अहिले उनी त्यो सुधार्ने प्रयासमा छन्।
जमाल खशोग्जीको हत्या भएको स्वीकार गर्नुअघि उनी खतरनाक इस्लामिस्ट भएको दाबी मोहम्मद बिन सलमानले अमेरिकासँग गरेका विवरणहरू प्रकाशित भएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
