असिनाले स्याङ्जामा २ करोड बढी सुन्तलाको नोक्सान

कुमार बाबु हिताँगा/स्याङजा । गत असोज २१ गते आएको असिना पानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरण अनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको हो । “असोज २१ गते विशेषगरी पुतलीबजार नगरपालिकाका विभिन्न भेगमा आएको ठूलो असिनापानीले सुन्तला बारीमा ठूलो नोक्सान पुर्याएको छ र हामीले यस कार्यालयबाट एक हप्ताको समयमा सम्बन्धित क्षेत्रमा पुगेर क्षतिको विवरण सङ्कलन गयौं” बरिष्ठ कृषि अधिकृत मदनकुमार श्रेष्ठले भने ।

Advertisement

असिनापानीले सबैभन्दा धेरै पुतलीबजार नगरपालिका १० मा २१४, ११ नं वडामा १८६, १३ नं वडामा ८७, भीरकोट नपा १ नं वडामा ११ र पुतलीबजार १४ नं वडामा ११ गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको बरिष्ठ कृषि अधिकृत श्रेष्ठले बताए । बजार मूल्य प्रतिकिलो रु ४० का दरले सबैभन्दा धेरै पुतलीबजार १० मा ८५ लाख ५१ हजार २८७, ११ नं वडामा ७४ लाख ५५ हजार ७१३, १३ नं वडामा ३४ लाख ७० हजार ९७६, भीरकोट नपा १ नं वडामा चार लाख ५७ हजार ४५२ र पुतलीबजार १४ नं वडामा चार लाख ४४ हजार २४७ गरी कूल रु दुई करोड तीन लाख ७९ हजार ६७५ मूल्यको सुन्तला क्षति भएको हो ।

पुतलीबजार १० राङखोलामा सुन्तला व्यवसायी मुक्ति अधिकारीको एक हजार सुन्तलाका बोट रहेकोमा बिक्री गर्नका लागि समय हुनै लागेका बेला एक्कासी आएको असिनापानीले उनको सुन्तला बगैँचामा रहेका ८० प्रतिशत सुन्तलामा क्षति पुर्याएको र दैनिक रुपमा रुखबाट सुन्तला झरिरहेका छन त्यसैले दिनानुदिन नोकसानको मात्रा बढदो छ ।

उनले भने,“गत वर्ष २९ टन सुन्तला बिक्री गरेको थिएँ, यसवर्ष ४० देखि ४५ टन सुन्तला फलेको थियो” सुन्तला व्यवसायी अधिकारीले भने, “यस वर्ष असिनापानीले सुन्तला सखाप पार्यो, झण्डै रु ३० लाखको क्षति भएको अनुमान गरेको छु ।” स्वादिलो सुन्तलाका रूपमा पहिचान रहेको स्याङ्जाको सुन्तला बिक्रीका लागि तयारी भइरहेका बेला असिनापानीले क्षति गरेपछि सुन्तला व्यवसायी चिन्तित छन् ।

More News last news
Loading...