चियाङ राइको गुफामा फसेका किशोरहरू र प्रशिक्षकको उद्धारमा खटिएका थाइ नौसेनाका पूर्व गोताखोर समन गुनानको थाम लुवाङ गुफाबाट बाहिर निस्कने क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
उनी गुफामा फसेका व्यक्तिहरूलाई सामान पुर्याएर फर्किनेक्रममा बेहोस भएको र त्यसपछि उनलाई बचाउन नसकिएको बताइएको छ। उनी ३८ वर्षका थिए।
एक अधिकारीले भने, “उनी अक्सिजन पुर्याउन गएका थिए। उनलाई फर्किनेबेला आफैँलाई अक्सिजनको अभाव हुन गयो।”उनको स्थानीय समय अनुसार राति २ बजे निधन भएको बताइएको छ।
गुनान एकदमै राम्रो धावक र साइकल चालक भएको बताइएको छ। उनी करिब दुई साताअघि थालिएको उद्धार अभियानका सक्रिय सदस्य थिए।
किशोरहरू र उनीहरूका प्रशिक्षकको उद्धार प्रयासमा नौसेनाका गोताखोर, सैनिक र गैरसैनिक व्यक्तिहरूसहित करिब एक हजार जना खटिइरहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
