उडिसा । भारतको उडिसा राज्यमा एक व्यक्तिले श्रीमतीलाई जुवामा हारेको विवरण सार्वजनिक भएको छ ।
उडिसाको बालेश्वर जिल्लाको मलाङबालीकुटी गाउँका एक व्यक्तिले जुवामा हारेपछि पत्नीलाई जित्ने मान्छेको जिम्मा लगाएका हुन् । पीडित महिलाले बालेश्वर जिल्लाको एक प्रहरी कार्यालयमा यसै साता उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।
पीडित महिलाका श्रीमान् र जुवा जित्ने व्यक्ति फरार छन् । जुवामा जित्ने व्यक्ति सोही गाउँका अबिराम दलाई भएको प्रहरीले जनाएको छ । उनले बाजीमा जितेकी महिलालाई सोही दिन बलात्कार गरेको पीडितले बताएकी छिन् ।
२७ मेमा स्थानीय प्रहरी चौकीमा उजुरी गर्न खोज्दा प्रहरीले मेलमिलाप गर्न सुझाब दिएका थिए । तर, प्रहरी उपरीक्षकलाई नै भेट गरेर पीडितका तर्फबाट निवेदन दिइएको थियो । पीडित महिलालाई जाँचका लागि बालेश्वर पठाएको प्रहरीले जनाएको छ । आरोपीविरुद्ध बलात्कारलगायत अन्य अभियोग पनि लगाइएको प्रहरीले जनाएको छ ।
जुवा हारेपछि यही २३ मेमा ती व्यक्तिले राति ११ बजे पत्नीलाई घरबाहिरको खेतमा जान कर गरेका थिए । तर, नमानेपछि उनी आफैँले पत्नीलाई हातमा समाएर खेतसम्म पु-याएका थिए, जहाँ जुवा जितेका व्यक्ति दलाई उनीहरूलाई कुरिरहेका थिए ।
ती व्यक्तिले पत्नीलाई दलाईलाई जिम्मा लगाएर ऊसँग शारीरिक सम्पर्क गर्न निर्देशन दिएका थिए । पतिको व्यवहारले छानाबाट खसेजस्तै भएकी ती महिला खेतबाट भाग्न खोजिन् । तर, दलाईले उनलाई जबर्जस्ती घिसारेर अज्ञात स्थलतर्फ लगेर बलात्कार गरेका थिए ।
पति जुवामा हारेर आफू बेचिएको महिलालाई केही थाहा थिएन । सोही रात घर फर्किएपछि पीडित महिलालाई पतिले सबै खुलासा गरेका थिए । जिम्मा लगाएका व्यक्तिसँग ती महिलाको चिनजानसमेत थियो ।
पीडित महिलाको १६ वर्षअघि विवाह भएको थियो । उनका एक छोरा र छोरी छन् । सो घटनाबारे पीडितका सन्तानले फोन गरेर मावलीलाई जानकारी गराएका थिए । पीडित परिवारको हस्तक्षेपका बाबजुद पनि महिलाका श्रीमानले निरन्तर दुर्व्यवहार गरे ।
विवाद समाधान गर्न पीडित परिवारले गाउँलेको सहयोग लिएको थियो । तर, गाउँलेले विवाद समाधान गर्न नसकेपछि पीडितका तर्फबाट बालिपाल प्रहरी चौकीमा उजुरी गरिएको थियो । एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
