विनय दिक्षित / नेपालगंज । गरिबी, परिस्थिति, अशिक्षा र भ्रमको लाभ लिँदै धर्म परिवर्तन गर्ने अभियानमा सक्रिय दुई जना माथि बाँके प्रहरीले मुद्दा चलाएको छ।
हिन्दु धर्मबाट क्रिस्चियन धर्ममा परिवर्तन गराउने दुई महिलालाई बाँके प्रहरीले मुद्दा अघि बढाएको हो । नेपालगन्ज वडा नं.१८ बस्ने सोनियाचन्द ठकुरी र उनकी कान्छी बहिनी एलिना वोडलाई प्रहरीले मुद्दा चलाएर अनुसन्धान सुरु गरेको छ।
प्रहरीले मंगलवार गरेको कारवाहीमा चन्द पक्राउ परेकी छन् । उनकी बहिनी फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक मुद्दा इन्चार्ज रण बहादुर विष्टले बताए।
नेपालगन्ज १८ बस्ने दिनेशलाल कर्णको छोरीलाई बाइबल पढ्न लगाई, रातभरि नियन्त्रणमा लिई, घरमा भएको हिन्दु धर्मका मूर्ति र प्रतिमा फाल्न लगाएको र शारीरिक यातना दिएको आरोप सहित उजुरी दर्ता भएको छ।
पीडित कर्ण र पक्राउ परेकी अभियुक्तहरु एउटै भवनमा भाडामा बस्दै आएका छन् । कर्णका २ वटा छोरी छन् । अन्टी भन्दै क्रिश्चियनहरुको रुममा छोरीहरु आउने जाने सिलसिला चली आएको थियो, दैनिक नेपालगन्ज संग जिल्ला प्रहरी कार्यालय बाँकेमा भेट्दा कर्णले भने, उनीहरुले हाम्रो छोरीको मनमा विष घोलेका रहेछन्।
छोरीहरुलाई क्रिश्चियन बनाएर हामी (बुबा, आमा)लाई पनि क्रिश्चियन बनाउने योजना थियो, कर्णले भने, उनीहरुले हाम्रो घरको देवी देउता शैतान हो भन्दै फाल्न लगाए । विहान मूर्ति र प्रतिमालाई घरमा उठाएर ल्याउन माफ गर्ने भनेपनि जेसुकै गरेपनि हामी ल्याउन नसक्ने मिशनरीहरुले जनाएपछि मुद्दा अघि बढाइएको कर्णले बताए।
कर्णको जेठी छोरी १३ वर्षकी छन् । घटना फाल्गुन २३ गतेको हो। रातिको समयमा छोरीहरु मिशनरीहरुकै फल्याटमा सुतेकी थिइन । राति १ः३० बजेको समयमा छोरी जोडले कराएको आवज आयो, कर्णले भने, केहिबेर त अन्तैको आवाज हो भन्ने लाग्यो पछि बुझ्दै जाँदा आफ्नै छोरी भएको थाहा पाइयो।
राति घरमा भूत पसेको र प्रभु इशु प्रकट भइरहेको दावी गर्दै घरमा भएका सैतान (हिन्दु धर्मका प्रतिमा) का मूर्तिहरु फाल्न सोनिया चन्दले भनेपछि सोही अनुसार गरेको थिएँ कर्णले भने, छोरीलाई केहि क्षति होला भनेर डराएको हुँ।
विहान टोलमा कुरा चल्दा स्थानीयहरु एक्ताबद्ध भई धर्म परिवर्तनको प्रतिवादमा उत्रिएपछि फरार भएका क्रिश्चियन मिसनरीहरुलाई नेपालगन्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हिन्दु धर्म मूर्ख र शैतानहरुको धर्म भएको दावी गर्दै विभिन्न लान्छना समेत लगाइयो, कर्णले भने, नाबालक छोरीहरुको मन मष्तिस्कमा पूरै जहर घोलिएको छ।
छोरीलाई अन्तरिक रुपमा लामो समय देखि शारीरिक यातना दिँदै आएको बताउँदै कर्णले भने, यातनाबाट छोरीको स्वास्थ्य अवस्था कमजोर भइसकेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता गर्न पुगेका कर्ण संग बाँकेका विभिन्न हिन्दुवादी संघ संगठनका पदाधिकारीहरु पुगेका थिए।
प्रहरीले दुबै विच छलफल गराएपनि अवस्था निस्कर्षमा नपुगेपछि मुद्दा चलाएको छ। विदेशी संस्थाबाट ठूलो लगानीमा बाँकेमा जबरजस्ती क्रिश्चियन बनाउने खेल भइरहेको प्रहरीले जनाएको छ।
आरोप रहेका दुबै उपर मुद्दा चलाइएको छ, मुद्दा इन्चार्ज विष्टले भने, यसरी जबरजस्ती कसैको धर्म परिवर्तन गर्न मिल्दैन । छोरीलाई रातभरि जगाएर बाइबल पढ्न लगाउने र हिन्दु धर्मका मूर्तिलाई शैतान बताउने कार्य अपराध भएको ठहर गर्दै प्रहरीले त्यसबारे थप अनुसन्धान अघि बढाएको छ ।
धर्म परिवर्तको तथ्य बाहिर आएपछि हिन्दुवादी संगठनहरुले अक्रोश पोखेका छन् । बाँकेमा हिन्दु धर्म माथि नै प्रहार भइरहेका धार्मिक अगुवाहरुको दावी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
