काठमाडौं । धनुषा र पाल्पामा भएको गाडी दुर्घटनामा चार जनाको ज्यान गएको छ। पाँच जना घाइते भएका छन्।
धनुषामा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा जनकपुरका प्रविण राउत र कृष्ण शाहको ज्यान गएको हो।
जनकपुर ढल्केबर सडक खण्डमा ज ९ प ४४८९ र ना ४९ प ५५१५ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। राउतको घटनस्थलमै र गम्भीर घाइते शाहको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै पाल्पाको बौगापोखराथोक वीरपोखरामा लु १ ज १९३८ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुहुङका चित्रबहादुर थापा र खिमकुमारी सारु छन्।
तानसेनबाट लुहुङका लागि छुटेको जीप वीरपोखरमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते पाँचजनालाई उपचारका लागि तानसेन लगिएको पाल्पाबाट उज्यालो सहकर्मी देव पचभैयाले जनाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
